२०८३ साउन ९ , शनिबार

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले राजीनामा घोषणा गरेका हुन् । मुख्यमन्त्री कँडेलविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि शनिबार दिउँसो तिन बजे प्रदेशसभा बैठक बोलाइएको थियो । तर प्रस्तावमाथि मतदानअघि नै कँडेलले राजीनामा दिएपछि कर्णालीको सत्ता समीकरण नयाँ चरणमा प्रवेश गरेको छ ।

गत असार ३२ गते नेपाली कांग्रेस र नेकपाका गरी १६ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । सत्ता साझेदार दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि कँडेल सरकार अल्पमतमा परेको थियो । यसअघि असार ३१ गते कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले सामूहिक राजीनामा दिएका थिए । आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले पदबाट राजीनामा दिएका थिए ।

कँडेल २०८० साल चैत २७ गते कर्णालीको मुख्यमन्त्री नियुक्त भएका थिए । त्यतिबेला तत्कालीन माओवादी केन्द्रको समर्थनमा उनले सरकारको नेतृत्व गरेका थिए। केन्द्रमा राजनीतिक समीकरण परिवर्तन भएपछि कांग्रेस–एमाले गठबन्धन बनेसँगै कर्णालीमा पनि सत्ता सहकार्य भएको थियो । तर कांग्रेसले पूर्वसहमति अनुसार सत्ता हस्तान्तरण नभएको भन्दै एमाले नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउँदै आएको थियो । अन्ततः कांग्रेसले नयाँ सत्ता समीकरण अघि बढाएपछि कँडेल नेतृत्वको सरकार संकटमा परेको हो । मुख्यमन्त्रीको राजीनामासँगै अब कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । नयाँ मुख्यमन्त्री चयनका लागि दलहरूबीचको छलफल र सत्ता समीकरण निर्णायक बन्ने देखिएको छ ।

प्रकाशित मिति : २०८३ साउन ९ गते शनिबार