२०८३ भदौ १६ , मंगलबार

कर्णालीमा पोषण सुधारका कार्यक्रमलाई निरन्तरता



सुर्खेत । कर्णाली प्रदेश सरकारले बालबालिका, किशोरकिशोरी तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार गर्न विभिन्न कार्यक्रमलाई निरन्तरता दिएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्दै प्रदेश सरकारले पोषण सुधारका कार्यक्रम सञ्चालन गर्न लागेको हो । सामाजिक विकास मन्त्रालयका अनुसार सुत्केरी पोषण कोशेली र पूरक पोषिलो खाना कार्यक्रम कार्यान्वयन गरिनेछ । यी कार्यक्रमका लागि चालु आर्थिक वर्षमा छ करोड ५९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिए ।

शाहीका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्ष स्वास्थ्य तथा पोषण क्षेत्रमा विनियोजित बजेट घटेको छ। विगतमा स्वास्थ्य क्षेत्रमा १५ देखि १६ करोड रुपैयाँसम्मका कार्यक्रम सञ्चालन हुँदै आए पनि अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को सहयोगमा सञ्चालित कार्यक्रम रोकिएपछि स्वास्थ्य क्षेत्रको बजेट तथा कार्यक्रम प्रभावित भएका छन् । यद्यपि प्रदेश सरकारले अत्यावश्यक स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेर निरन्तरता दिएको जनाएको छ ।

गरिब, सीमान्तकृत, भूमिहीन, विपन्न तथा लक्षित वर्गका परिवारको खाद्य तथा पोषण सुरक्षा सुधार गर्न विशेष प्रोत्साहन कार्यक्रमसमेत सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । कर्णालीमा भने कुपोषणको अवस्था अझै चुनौतीपूर्ण छ । राष्ट्रिय जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार प्रदेशका करिब ३६ प्रतिशत बालबालिकामा पुड्कोपन, १८ प्रतिशतमा कम तौल र चार प्रतिशतमा ख्याउटेपनाको समस्या देखिएको छ । यस्तै, करिब ४८ प्रतिशत बालबालिका रक्तअल्पताबाट प्रभावित रहेको तथ्यांक छ ।

खाद्य असुरक्षा, गरिबी, सन्तुलित आहारको अभाव तथा दुर्गम भौगोलिक अवस्थाका कारण कर्णालीमा कुपोषणको समस्या कायम रहेको बताइन्छ । सरकारले सन् २०३० सम्म कुपोषण घटाउने राष्ट्रिय लक्ष्यलाई सहयोग पुग्ने गरी प्रदेशस्तरमा कार्यक्रम अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : २०८३ भदौ १६ गते मंगलबार