सुर्खेत । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत र उद्धारका लागि सुर्खेतको वीरेन्द्रनगरस्थित ग्रीनल्याण्ड एकेडेमीले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ ।

विद्यालय परिवारले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षक तथा कर्मचारीबाट स्वेच्छिक रूपमा रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख १ हजार योगदान गरेको हो ।
बाढीका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित परिवारलाई राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको विद्यालयका सञ्चालक प्रकाश शाहीले बताए । विद्यालयले विपत्तिको यस घडीमा पीडित परिवारप्रति सहानुभूति व्यक्त गर्दै मानवीय सहयोगका लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नसमेत आग्रह गरेको छ ।
प्रकाशित मिति : २०८३ भदौ १६ गते मंगलबार








