२०८३ भदौ १७ , बुधबार

झ्यारी सडक निर्माणमा लापरवाही



मुगु । छायानाथ रारा नगरपालिका आठ झ्यारीमा सडक विस्तार तथा स्तरोन्नतिको काम भइरहे पनि यातायात व्यवस्थापन प्रभावकारी नहुँदा स्थानीयवासी र यात्रुले ठूलो सास्ती खेप्नुपरेको छ । सडक अवरुद्ध हुँदा सामान्य अवस्थामा एकदेखि दुई घण्टामा पुगिने सदरमुकाम गमगढी पुग्न आठ दिनसम्म लाग्ने गरेको स्थानीयको गुनासो छ । सडक निर्माणको जिम्मा प्रभात उपमा जेभीले पाएको छ । निर्माण कम्पनीले सडक चौडा बनाउने क्रममा यातायात सञ्चालनका लागि पर्याप्त वैकल्पिक व्यवस्था नगरेको स्थानीयको आरोप छ ।

निर्माणका क्रममा ठाउँ–ठाउँमा सडक अवरुद्ध हुने र अवरोध हटाउन लामो समय लाग्ने गरेकाले यात्रु तथा सवारी चालक समस्यामा परेका हुन् । छायानाथ रारा नगरपालिका आठका स्थानीय रतन रावलले सडक निर्माण आवश्यक भए पनि सर्वसाधारणको आवागमन नै ठप्प हुने गरी काम गर्न नहुने बताए । उनका अनुसार सडकमा अवरोध सिर्जना भएपछि यात्रुले घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था छ ।

सवारी चालक विष्णु जैसीले झ्यारीबाट गमगढीसम्म सामान्य अवस्थामा करिब एक घण्टामै पुगिने भए पनि अहिले सडकको अवस्था निकै खराब रहेको बताए । सडक अवरोधका कारण यात्रुसँगै खाद्यान्न तथा अन्य सामग्री ढुवानीमा समेत समस्या भएको उनकाे भनाइ छ । सडक अवरुद्ध हुँदा गाउँबाट कृषि उपज सदरमुकाम लैजान तथा सदरमुकामबाट दैनिक उपभोग्य सामग्री गाउँसम्म पुर्‍याउन कठिन भएको स्थानीय जुनु शाहीले बताए । बिरामीलाई उपचारका लागि सदरमुकाम ल्याउनसमेत समस्या हुने गरेको स्थानीयको भनाइ छ ।

सडक डिभिजन कार्यालय जुम्लाका साइट इन्जिनियर दीपेन्द्र चौधरीका अनुसार सडकमा डबल कटिङ, ग्याबिन वाल, सिमेन्टेट वाल र ग्राभेलको काम भइरहेको छ । एक करोड ८२ लाख रुपैयाँ लागत रहेको योजनाको हालसम्म करिब ३५ प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले वर्षाका बेला झ्यारी खोलामा सडक चारदेखि पाँच दिनसम्म अवरुद्ध हुने गरेको बताए ।

प्रकाशित मिति : २०८३ भदौ १७ गते बुधबार