जुम्ला । जुम्लामा दुई दशकभन्दा लामो समयदेखि विभिन्न सामाजिक तथा विकासका क्षेत्रमा काम गर्दै आएको वल्र्ड भिजन इन्टरनेसनल नेपालले चार स्थानीय तहमा सञ्चालन गरेका कार्यक्रम सम्पन्न गरेको छ । सन् २००३ देखि जुम्लामा सक्रिय संस्थाले चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासीमा किर्डाक नेपालसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरेको थियो ।
संस्थाले कृषि, शिक्षा, स्वास्थ्य, पोषण, महिला सशक्तीकरण, उद्यमशीलता, रोजगारी प्रवर्द्धन तथा बाल संरक्षणका क्षेत्रमा विभिन्न परियोजना सञ्चालन गर्दै आएको थियो । कार्यक्रम समापनका अवसरमा सोमबार आयोजित जिल्ला स्तरीय कार्यशालामा २३ वर्षमा हासिल उपलब्धिको समीक्षा तथा सार्वजनिक गरिएको हो ।
वल्र्ड भिजन जुम्लाका प्रमुख भेषबहादुर रावलका अनुसार पछिल्लो एक वर्षमा मात्रै चार करोड रुपैयाँभन्दा बढी रकम सामाजिक विकासका क्षेत्रमा लगानी गरिएको थियो । कोभिड–१९ का कारण प्रभावित तथा विदेशबाट फर्किएका दुई हजार सात सय नाै युवालाई स्वरोजगार र जीविकोपार्जन सुधारका कार्यक्रममा जोडिएको उनले जानकारी दिए । त्यस्तै, ७० कृषक समूह गठन, चार सय ९३ किसानलाई कृषि पाठशालामार्फत सहयोग तथा कृषि उपकरण वितरण गरिएको थियो ।
संस्थाका अनुसार करिब तिन हजार एक सय बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराइएको छ भने महिला सशक्तीकरण तथा सामाजिक कुरीति न्यूनीकरणका लागि २७ वटा रूपान्तरण कक्षा सञ्चालन गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले कृषि, शिक्षा, स्वास्थ्य, बाल संरक्षण र महिला सशक्तीकरणका क्षेत्रमा संस्थाले गरेको काम महत्वपूर्ण रहेको बताए ।
कार्यक्रम समापनसँगै हालसम्म प्राप्त उपलब्धिको संरक्षण र दिगोपनाको जिम्मेवारी स्थानीय तहमा आएको जनप्रतिनिधिले बताएका छन् । चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले दुर्गम क्षेत्रमा शिक्षा, स्वास्थ्य, पोषण र बालबालिकाका क्षेत्रमा भएको लगानीले स्थानीय विकासमा सकारात्मक योगदान पुगेको बताए ।









