जाजरकोट । वर्षायाम सुरु भएसँगै जाजरकोटका अधिकांश ग्रामीण सडक अवरुद्ध हुँदा दुर्गम बस्तीमा दैनिक उपभोग्य वस्तुको अभाव देखिन थालेको छ । असारदेखि नै सडक नियमित सञ्चालन हुन नसक्दा गाउँमा चामल, दाल, तेललगायतका अत्यावश्यक सामग्रीको आपूर्ति प्रभावित भएको हो । लुम्बिनी–रारा राजमार्ग लामो समयदेखि अवरुद्ध हुँदा कुसे र बारेकोट गाउँपालिकातर्फ जाने यातायातका साधन गन्तव्यसम्म पुग्न सकेका छैनन् । यी क्षेत्रमा दैनिक उपभोग्य वस्तु मुख्यतः ट्रक तथा ट्याक्टरमार्फत ढुवानी हुँदै आएकोमा सडक अवरोधका कारण आपूर्ति रोकिएको स्थानीयको भनाइ छ ।
कुसे गाउँपालिका पाँचका वडाध्यक्ष हरिबहादुर सिंहले सडक अवरुद्ध भएपछि गाउँमा दैनिक उपभोग्य सामानको अभाव बढ्दै गएको बताए । यातायात सञ्चालन नहुँदा बजारमा आवश्यक सामग्री पाउन कठिन भएको उनकाे भनाइ छ । बारेकोट गाउँपालिकाका उपाध्यक्ष नरबहादुर गिरीका अनुसार विभिन्न गाउँबाट चामललगायत खाद्य सामग्रीको अभाव भएको गुनासो आउन थालेको छ ।
कुसे आठ पैङ्कका स्थानीय नवीन सिंहले लामो समयदेखि यातायात बन्द हुँदा स्थानीय बजारमा समेत सामान पाउन समस्या भएको बताए । जाजरकोटका सात स्थानीय तहका ७७ वडामध्ये ७० भन्दा बढी वडा सडक सञ्जालमा जोडिए पनि वर्षायाममा सडक अवरुद्ध हुँदा हरेक वर्ष यस्तै समस्या दोहोरिने गरेको स्थानीय बताउँछन् । यसैबीच, शिवालय गाउँपालिका जोड्ने सडकको स्तरोन्नति तथा कालोपत्रेको काम चार वर्षपछि अघि बढेको छ । शिवालय–कचाली सडकखण्डअन्तर्गत मोर्कदेखि शिवालयसम्मको नौ किलोमिटर सडक स्तरोन्नति गर्न लागिएको हो ।
स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेत र वाइपी सिंह गोरखनाथ जेभीबीच २०७९ माघ १९ गते ३० करोड ७५ लाख आठ हजार रुपैयाँमा सम्झौता भएको थियो । सम्झौताअनुसार २०८० माघभित्र सम्पन्न हुनुपर्ने काम ढिलाइ भएपछि पटक–पटक म्याद थप गरिएको थियो । पछिल्लो पटक २०८३ माघ तिन गतेसम्म काम सम्पन्न गर्ने गरी म्याद थप गरिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख राजकुमार गोइतले निर्माण व्यवसायीलाई बाँकी काम तोकिएको समयभित्र सम्पन्न गर्न निर्देशन दिइएको बताए ।









