२०८३ भदौ १८ , बिहीबार

दार्मामा औषधि अभाव, छ सय बिरामी प्रभावित



सल्यान । दार्मा गाउँपालिकामा नसर्ने रोगका बिरामीले नियमित सेवन गर्ने निःशुल्क औषधि अभाव भएपछि समस्या भोग्नुपरेको छ । स्वास्थ्य संस्थामा औषधि नपाउँदा बिरामी निजी औषधि पसलमा महँगोमा किन्न तथा टाढाका बजारसम्म पुग्न बाध्य भएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार संघीय सरकारबाट उपलब्ध हुनुपर्ने केही औषधि आए पनि प्रदेश सरकारमार्फत आउनुपर्ने नसर्ने रोगसम्बन्धी औषधि पर्याप्त मात्रामा प्राप्त हुन सकेको छैन ।

विशेषगरी उच्च रक्तचाप, मधुमेह र मानसिक स्वास्थ्यसम्बन्धी औषधिको अभाव देखिएको स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए । उनका अनुसार नियमित औषधि सेवन गर्ने करिब छ सय प्रेसर तथा सुगरका बिरामी औषधि अभावबाट प्रत्यक्ष प्रभावित भएका छन् । स्वास्थ्य संस्थामा औषधि नपाएपछि बिरामीले फारुलाचौरमा रहेका निजी क्लिनिक तथा मेडिकलमा खोज्ने गरेका छन् । त्यहाँसमेत सहज रूपमा औषधि नपाउँदा कतिपय बिरामी सदरमुकाम खलंगा, श्रीनगर तथा रुकुम पश्चिमको चौरजहारीसम्म पुग्नुपर्ने अवस्था रहेको बताइएको छ ।

दार्मा दुईका तुलसी शर्माले स्वास्थ्य संस्थाबाट निःशुल्क पाउनुपर्ने प्रेसरको औषधि नपाएपछि निजी पसलबाट खरिद गरेर सेवन गरिरहेको बताए । नियमित सेवन गर्नुपर्ने औषधि स्थानीयस्तरमा नपाउँदा आर्थिक अवस्था कमजोर भएका बिरामी बढी प्रभावित भएका छन् । गाउँपालिका अध्यक्ष निमबहादुर केसीले संघ र प्रदेशबाट उपलब्ध हुनुपर्ने औषधि नियमित आपूर्ति नहुँदा समस्या भएको बताए । उनका अनुसार पछिल्ला दुई वर्षदेखि औषधि आपूर्तिमा समस्या देखिँदै आएको छ ।

स्थानीय तहले आफैँ औषधि खरिद गर्न नमिल्ने व्यवस्थाका कारण पनि समस्या समाधान गर्न कठिन भएको अध्यक्ष केसीको भनाइ छ । औषधि आपूर्ति सहज बनाउन सम्बन्धित निकायलाई पटक–पटक पत्राचार र ध्यानाकर्षण गरिए पनि समस्या समाधान हुन नसकेको उनले बताए । स्थानीयले नसर्ने रोगका बिरामीका लागि आवश्यक औषधि नियमित र निःशुल्क उपलब्ध हुने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : २०८३ भदौ १७ गते बुधबार