दिलीप कँडेल सुर्खेत । भोटेकोशी नदीमा आएको भीषण तथा विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि चौकुने गाउँपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

Oplus_131072
चौकुने गाउँपालिकाले जारी गरेको विज्ञप्तिअनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति गाउँपालिकाले दुःख व्यक्त गरेको छ।
प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति गाउँपालिकाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
गाउँपालिका अध्यक्षस्तरको निर्णयअनुसार विपद् व्यवस्थापन कोष, जनप्रतिनिधिको सेवा–सुविधा तथा कर्मचारीको तलब भत्ताबाट नेपाल सरकारको निर्णयअनुसार कट्टी हुने रकमसमेतबाट कुल १० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
चौकुने गाउँपालिकाले विपद्को यस कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै नागरिक, कर्मचारी, जनप्रतिनिधि, बुद्धिजीवी, व्यापारी, संघ–संस्था तथा सरोकारवालालाई सहयोगका लागि अपिलसमेत गरेको छ।







