रुकुम पश्चिम । तत्कालीन माओवादीले सशस्त्र जनयुद्ध सुरु गर्नुअघि हत्या गरिएका गणेश शाहको परिवारले घटनाको ३२ वर्ष बितिसक्दा पनि न्याय र राहत नपाएको गुनासो गरेको छ । चौरजहारी नगरपालिका ११ खोलागाउँका शाहको २०५१ साल भदौ १७ गते हत्या भएको थियो । उनको हत्या भएको ३२ वर्ष पूरा भएको अवसरमा आयोजित स्मृति कार्यक्रममा परिवारले लामो समयदेखि न्यायको प्रतीक्षामा बस्नुपरेको बताएको हो ।
शाहकी श्रीमती तोलाकुमारी शाहले श्रीमान्को हत्या भएपछि परिवार बिचल्लीमा परेको बताइन् । हत्यामा संलग्न व्यक्तिहरूमाथि हालसम्म कारबाही नभएको र राज्यबाट समेत राहत नपाएको उनको गुनासो छ । श्रीमान्को हत्या गर्नेहरू जनयुद्धका नाममा फरार रहेको भन्दै उनले आफूहरूले अहिलेसम्म न्यायको अनुभूति गर्न नसकेको बताइन् ।
तत्कालीन खोलागाउँ गाविसका अध्यक्ष तथा जिल्ला विकास समितिका सदस्यसमेत रहेका शाह कामको सिलसिलामा जिल्ला सदरमुकाम जाने क्रममा सानीभेरी गाउँपालिका नाै सिम्लीको सुलिहालेमा हत्या भएका थिए । कार्यक्रममा नेपाली कांग्रेस रुकुम पश्चिमका उपसभापति हर्कसिंह खत्रीले राजनीतिक आस्थाकै कारण शाहको हत्या भएको दाबी गरे ।
शान्ति सम्झौतामा २०५२ साल फागुन एक गतेदेखि भएका घटनालाई मात्र द्वन्द्वकालीन घटनाका रूपमा समेटिएपछि शाहको परिवार राहतबाट वञ्चित भएको उनको भनाइ थियो । खत्रीले सरकारले राजपत्रमा गणेश शाहको नाम सहिदको सूचीमा समावेश गरे पनि सहिद परिवारले पाउनुपर्ने राहत अझै नपाएको बताए । ३२ वर्षसम्म परिवारले न्यायका लागि संघर्ष गर्नुपर्नु दुःखद् भएको उनले उल्लेख गरे ।
कांग्रेस चौरजहारी नगरसभापति प्रेमबहादुर ओलीले हत्या र हिंसाबाट विचार समाप्त गर्न नसकिने बताए । विचार र आस्थाकै आधारमा हत्या हुनु आपराधिक मानसिकताको उपज भएको उनको भनाइ थियो । कांग्रेस चौरजहारी–११ का सभापति खिमबहादुर ओलीले प्रत्येक वर्ष शाहको स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए ।








