२०८३ भदौ १८ , बिहीबार

हिमताल फुट्ने त्रासमा लिमीका दुई बस्ती



हुम्ला । नाम्खा गाउँपालिका छ हिमालपारिको लिमीका दुई बस्ती हिमताल फुटेर आउने बाढी र पहिरोको उच्च जोखिममा रहेका छन् । पटक–पटक हिमताल फुटेर बाढी र पहिरो आउने गरेपछि तिलगाउँ र हल्जीगाउँका स्थानीय वर्षायाममा त्रासमा बस्न बाध्य छन् । लिमी तिलगाउँका स्थानीयका अनुसार गाउँमाथि रहेका हिमतालको पानी फुटेर विगतमा लगातार दुई वर्ष बाढी आएपछि बस्तीमा क्षति पुगेको थियो ।

स्थानीय कोनुर्वु लामाले वर्षा हुन थालेपछि सुरक्षित स्थानको खोजीमा गाउँ छोडेर नजिकैको चौरमा गएर बस्नुपर्ने अवस्था रहेको बताए । तिलगाउँमा हाल १८ घरपरिवार बसोबास गर्दै आएका छन् । विगतमा आएको बाढीका कारण गाउँनजिकै ठूलो दरारसमेत परेको स्थानीयको भनाइ छ । हिमताल फुट्ने जोखिमका कारण वर्षायाममा घरमै बस्नसमेत डर लाग्ने उनीहरू बताउँछन् ।

लिमीको अर्को बस्ती हल्जीगाउँ पनि हिमताल र हिमपहिरोको जोखिममा रहेको स्थानीय कुन्जोक तामाङले बताए । उनका अनुसार चार वर्षअघि गाउँनजिकैको खोलामा हिमताल फुटेर आएको पहिरोले चार घरमा क्षति पुर्‍याएको थियो । वर्षा सुरु भएपछि स्थानीयलाई सम्भावित जोखिमप्रति चनाखो भएर बस्नुपर्ने बाध्यता रहेको उनले बताए । हल्जीगाउँमा करिब ९० घरधुरीको बसोबास छ ।

गाउँमा पुरानो गुम्बासमेत रहेकाले धार्मिक तथा सांस्कृतिक महत्वका कारण धेरै परिवारले बस्ती छोड्न नसकेको स्थानीय बताउँछन् । लिमीका दुवै बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै पटक–पटक सम्बन्धित निकायमा पहल गरिए पनि सुनुवाइ नभएको वडाध्यक्ष पाल्जोर तामाङले गुनासो गरे ।

जिल्लादेखि प्रदेश हुँदै संघीय राजधानीसम्म स्थानान्तरणका लागि पहल गरे पनि ठोस निर्णय हुन नसकेको उनले बताए । गत वर्ष हल्जीगाउँको सुनखानी माध्यमिक विद्यालयसमेत पहिरोको जोखिममा रहेको भन्दै स्थानीयले सामूहिक पहलमा विद्यालय भवन अन्यत्र निर्माण गरी स्थानान्तरण गरेका थिए । स्थानीयका अनुसार बस्ती स्थानान्तरणमा भने अझै सरकारी पहल आवश्यक छ ।

प्रकाशित मिति : २०८३ भदौ १८ गते बिहीबार