जाजरकोट । छेडाचाँदे देखी जुम्ला सडकखण्ड अन्तर्गत छेडागाड नगरपालिका एक र चार जोड्ने साल्मा खोला (खारा) मा निर्माणाधीन पक्की पुल चार वर्षदेखि अलपत्र परेको छ । पुलका दुईवटा पिलर निर्माण गरेपछि ठेकेदारले काम अघि नबढाउँदा यात्रु र स्थानीयले जोखिम मोलेर खोला पार गर्नुपर्ने बाध्यता छ । बर्खायाममा साल्मा खोलाको पानीको बहाव बढेपछि सवारीसाधन वारपार गर्न कठिन हुने गरेको स्थानीय प्रकाश केसीले बताए ।
खोला बढेका बेला घण्टौँसम्म यातायात प्रभावित हुने गरेको छ । विशेषगरी बिरामी, बालबालिका, ज्येष्ठ नागरिक तथा मालवाहक सवारीसाधन बढी प्रभावित हुने गरेका छन् । पूर्वाधार विकास कार्यालय, जाजरकोटका अनुसार पुल निर्माणका लागि नेपाल मेघा सिस्ने जेभी, नेपालगन्जसँग २०७८ असोज २९ गते ठेक्का सम्झौता भएको थियो । चार करोड ८८ लाख एक हजार पाँच सय १७ रुपैयाँ ९१ पैसा लागतमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको पुल २०८० माघ २८ गतेभित्र सक्नुपर्ने थियो ।
सम्झौताको म्याद सकिएको लामो समय बितिसक्दा पनि पुलका दुई पिलरबाहेक अन्य काम हुन सकेको छैन । निर्माण व्यवसायीले म्याद थपका लागि निवेदन दिए पनि निर्माण कार्यले गति लिन सकेको छैन । पुल निर्माण नहुँदा छेडाचाँदे–जुम्ला सडकखण्डमा नियमित यात्रा गर्ने स्थानीय तथा यात्रुले हरेक वर्ष बर्खामा समस्या भोग्दै आएका छन् ।
पुल बनेपछि छेडागाड, जुनिचाँदे र कुशेका विभिन्न क्षेत्रको आवतजावत सहज हुने अपेक्षा गरिएको थियो । स्थानीयले वर्षौंदेखि रोकिएको निर्माण कार्य तत्काल अघि बढाई पुल सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । उनीहरूले पुल निर्माण भएपछि बर्खामा हुने यातायात अवरोध र जोखिमपूर्ण खोला वारपारको समस्या स्थायी रूपमा समाधान हुने बताएका छन् ।









