२०८३ भदौ १९ , शुक्रबार

सल्यानमा भाइरल ज्वरोको प्रकोप



सल्यान । मौसम परिवर्तन र निरन्तर वर्षासँगै सल्यानमा ज्वरोका बिरामीको संख्या ह्वात्तै बढेको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीमध्ये झन्डै आधा ज्वरोका बिरामी हुने गरेका छन् । बालबालिका, वयस्क तथा ज्येष्ठ नागरिकमा ज्वरोको समस्या बढी देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त प्रमुख डा. जगत किरण वलीका अनुसार वर्षात्को मौसमसँगै भाइरल ज्वरो, स्क्रबटाइफस र डेंगुका बिरामी बढेका छन् ।

जिल्ला अस्पतालमा दैनिक एक सय ५० देखि दुई सय जनासम्म बिरामी उपचारका लागि आउने गरेकोमा करिब ५० प्रतिशत ज्वरोका बिरामी हुने गरेका छन् । उनका अनुसार अधिकांश बिरामीमा भाइरल ज्वरो देखिएको छ । सामान्य भाइरल ज्वरो औषधि सेवन, पर्याप्त आराम र स्वास्थ्य सावधानी अपनाएपछि केही दिनमै निको हुने भएकाले धेरैलाई अस्पताल भर्ना गर्नुपरेको छैन । तर स्क्रबटाइफस र डेंगुका कारण गम्भीर अवस्थामा पुगेका बिरामीलाई भने थप उपचारका लागि अन्यत्र रिफर गर्ने गरिएको छ ।

कपुरकोट गाउँपालिकाद्वारा सञ्चालित पाँच शय्याको अस्पतालमा पनि बिरामीको चाप बढेको छ । अस्पतालका व्यवस्थापक देवेन्द्र सेनका अनुसार दैनिक करिब ४० जना बिरामी उपचारका लागि आउने गरेका छन् । तीमध्ये करिब ६० प्रतिशतमा ज्वरोको समस्या देखिने गरेको उनले बताए । दार्मा गाउँपालिकामा भने स्क्रबटाइफससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या बढेको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार स्वास्थ्य संस्थामा बिरामीको चाप बढिरहेको छ ।

पछिल्लो समय स्क्रबटाइफस वा सोसँग मिल्दोजुल्दो लक्षण देखिएका तीन जनाको मृत्यु भएको उनले बताए । उच्च ज्वरो भएका केही बिरामीलाई थप उपचारका लागि रिफर गरिएको छ । यस्तै, बागचौर नगरपालिकाका स्वास्थ्य अधिकृत हरिबहादुर कठायतले पनि ज्वरोका बिरामी बढेको बताए । कडा ज्वरो आएका बिरामीको रगत परीक्षण गर्दा केहीमा स्क्रबटाइफस पुष्टि भएको उनको भनाइ छ । स्वास्थ्यकर्मीले वर्षात्को समयमा सरसफाइमा ध्यान दिन, लामो समयसम्म ज्वरो आएमा स्वास्थ्य संस्थामा परीक्षण गराउन र चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८३ भदौ १९ गते शुक्रबार