२०८३ भदौ १९ , शुक्रबार

हुम्लाको च्याममा एक सातादेखि फोरजी सेवा अवरुद्ध



हुम्ला । अदानचुली गाउँपालिका पाँच च्याममा रहेको नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि सञ्चालनमा नआउँदा स्थानीयवासी सञ्चार सेवाबाट वञ्चित भएका छन् । टावर बन्द भएपछि मोबाइल फोन तथा इन्टरनेट सेवा प्रभावित हुँदा दैनिक सञ्चारदेखि आपत्कालीन अवस्थामा समेत समस्या भएको स्थानीयले बताएका छन् ।

अदानचुली पाँचका स्थानीय बालबहादुर मल्लका अनुसार टावर लामो समयदेखि बिग्रिएपछि गाउँमा फोन सम्पर्क गर्न र आवश्यक सूचना आदानप्रदान गर्न कठिनाइ भइरहेको छ ।  विशेषगरी बिरामी तथा आकस्मिक अवस्थामा आफन्त, स्वास्थ्य संस्था र अन्य निकायसँग सम्पर्क गर्न समस्या हुने गरेको उनले बताए । स्थानीयवासीले तत्काल टावर मर्मत गरी सञ्चार सेवा नियमित गर्न नेपाल टेलिकमसँग माग गरेका छन् ।

च्याममा रहेको उक्त टावरले अदानचुली गाउँपालिकाका साथै छिमेकी मुगुको सोरु गाउँपालिका आसपासका क्षेत्रमा समेत मोबाइल तथा इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । टावर बन्द हुँदा यसको प्रत्यक्ष असर ठूलो भू–भागका बासिन्दामा परेको छ । नेपाल टेलिकम हुम्लाका सूचना अधिकारी रामबहादुर बोहोराका अनुसार पछिल्लो समय लामो समयसम्म घाम नलाग्दा टावरमा जडान गरिएको सोलार प्रणाली पर्याप्त चार्ज हुन नसकेपछि सेवा सञ्चालनमा समस्या आएको हो । टावरको अवस्थाबारे केन्द्रीय कार्यालयको प्राविधिक शाखाबाट समेत परीक्षण गराइएको उनले जानकारी दिए ।

उनका अनुसार सोलारमा पर्याप्त पावर जम्मा नभएकाले टावर सञ्चालन हुन नसकेको हो ।  कम्तीमा ४८ घण्टासम्म राम्रोसँग घाम लागेर सोलार प्रणाली चार्ज भए टावर स्वतः सञ्चालनमा आउने प्राविधिक जानकारी प्राप्त भएको बोहोराले बताए । यसैबीच, जिल्ला सदरमुकाम सिमकोटमा समेत सोलारमा पर्याप्त पावर नहुँदा दैनिक छ देखि आठ घण्टासम्म टेलिकम सेवा प्रभावित हुने गरेको नेपाल टेलिकमले जनाएको छ । हिमाली जिल्लामा सञ्चार सेवा सञ्चालनका लागि सोलार प्रणालीमा निर्भरता रहेकाले मौसम प्रतिकूल हुँदा सेवा प्रभावित हुने समस्या दोहोरिँदै आएको छ ।

प्रकाशित मिति : २०८३ भदौ १९ गते शुक्रबार