सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णालीका रैथाने तथा स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले ‘कोसेली गृह’ सञ्चालनमा आएको छ । वीरेन्द्रनगरको हटियालाइन क्षेत्रमा निर्माण गरिएको कोसेली गृहको शुक्रबार एक कार्यक्रमबीच कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले उद्घाटन गरेकी हुन् ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, कर्णाली प्रदेशले एक करोड २४ लाख रुपैयाँको लागतमा निर्माण गरेको कोसेली गृहमा हाल नाै जनाले रोजगारी पाएका छन् । गृह सञ्चालनबाट प्रदेश सरकारले वार्षिक रूपमा लाखौँ रुपैयाँ भाडा आम्दानीसमेत गर्ने अपेक्षा गरिएको छ ।
कोसेली गृहमा कर्णालीमा उत्पादन हुने रैथाने खाद्यान्न, स्थानीय कच्चा पदार्थमा आधारित कपडा, जडीबुटी, हस्तकला, ऊनी तथा घरेलु सामग्री, कृषि उपजलगायतका स्थानीय उत्पादन उपलब्ध हुनेछन् । यसले कर्णालीका उत्पादक तथा उद्यमीलाई बजारसँग जोड्दै स्थानीय उत्पादनको प्रवर्द्धन, बजारीकरण र ब्रान्डिङमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उद्घाटन कार्यक्रममा मन्त्री खड्काले कर्णालीका प्राकृतिक स्रोतसाधन, मौलिक संस्कृति, परम्परागत सीप तथा स्थानीय उत्पादनको उपयोग गर्दै प्रदेशको अर्थतन्त्रमा योगदान पुर्याउने गतिविधिमा सरकार अग्रसर रहेको बताइन् । स्थानीय उत्पादनलाई व्यवस्थित रूपमा बजारसम्म पुर्याउन कोसेली गृह महत्वपूर्ण पहल भएको उनको भनाइ थियो ।
मन्त्री खड्काले ‘मेक इन कर्णाली’ अभियान कर्णालीमा उत्पादन गर्ने, कर्णालीकै उत्पादनलाई चिनाउने तथा स्थानीयस्तरमै रोजगारी र उद्यम सिर्जना गर्ने अभियान भएको बताइन् । स्थानीय उत्पादनको गुणस्तर वृद्धि, प्याकेजिङ, ब्रान्डिङ, उचित मूल्य र बजार पहुँच सुनिश्चित गर्न यस्ता कार्यक्रमले उत्पादक, उद्यमी र उपभोक्ताबीचको सम्बन्ध बलियो बनाउने उनको भनाइ थियो ।
प्रदेश सरकारले कोसेली गृहलाई कर्णालीका उत्पादनलाई प्रदेशभित्र मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने आधारका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । ‘कर्णालीमा उत्पादन गरौँ, कर्णालीको उत्पादन प्रयोग गरौँ’ भन्ने अवधारणासहित सञ्चालनमा आएको कोसेली गृहले स्थानीय उत्पादनको उपभोग बढाउँदै आत्मनिर्भर तथा समृद्ध कर्णाली निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।









