२०८३ भदौ २० , शनिबार

डोल्पाका बालबालिकाको स्वास्थ्य जाँच गर्न खर्कमै पुगे स्वास्थ्यकर्मी



डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका दुई रसि गाउँका बालबालिकालाई स्वास्थ्यकर्मीले खर्कमै पुगेर स्वास्थ्य सेवा दिएका छन् । गाउँका अधिकांश परिवार वर्षायाममा बालबालिका र परिवारसहित लेख–खर्कमा बस्न थालेपछि स्वास्थ्यकर्मीले सेवाग्राहीको अवस्थालाई ध्यानमा राख्दै खर्कमै पुगेर सेवा दिएका हुन् ।

स्वास्थ्य संस्थासम्म पुग्न स्थानीयलाई कठिनाइ हुने भएकाले स्वास्थ्यकर्मी मनसरी थापाले वर्षात्को झरीको समेत प्रवाह नगरी खर्कमा पुगेर बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्था जाँच गरेकी हुन् । उनले बालबालिकाको वृद्धि अनुगमन, पोषणसम्बन्धी लेखाजोखा तथा आवश्यक स्वास्थ्य परामर्श र सेवा प्रदान गरेकी छन् ।

गाउँमा भन्दा खर्क क्षेत्रमा स्थानीयको बसोबास बढेपछि बालबालिकाको स्वास्थ्य सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले स्वास्थ्यकर्मीले घरदैलोमै पुगेर सेवा दिएको बताइएको छ । दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउन स्वास्थ्यकर्मीको सक्रियताले महत्वपूर्ण भूमिका खेल्ने स्थानीयको भनाइ छ । त्रिपुरासुन्दरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले स्वास्थ्य सेवा लिन सेवाग्राही मात्र स्वास्थ्य संस्थामा पुग्नुपर्ने नभई आवश्यकता र परिस्थितिअनुसार स्वास्थ्यकर्मी पनि समुदायमा पुग्नुपर्ने बताए ।

उनले इच्छाशक्ति र सेवाभाव भए स्वास्थ्य सेवा जुनसुकै स्थानमा पुगेर प्रदान गर्न सकिने भन्दै स्वास्थ्यकर्मी मनसरी थापाको पहल उदाहरणीय रहेको बताए । खर्कमै पुगेर बालबालिकाको स्वास्थ्य र पोषण अवस्थाबारे जानकारी लिई सेवा प्रदान गरेकोमा उनले थापालाई धन्यवादसमेत दिएका छन् । दुर्गम बस्ती तथा अस्थायी बसोबास भएका क्षेत्रमा समेत नियमित स्वास्थ्य सेवा विस्तार गर्न यस्ता घरदैलो कार्यक्रम प्रभावकारी हुने स्वास्थ्य शाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भदौ १९ गते शुक्रबार