२०८३ भदौ २१ , आइतबार

नयाँ विपद्ले पुराना पीडित ओझेलमा



जाजरकोट । रसुवामा आएको बाढीपहिरोपछि सरकारको ध्यान नयाँ विपद्तर्फ केन्द्रित हुँदा जाजरकोटका भूकम्पपीडितले आफ्नो पुनर्निर्माणको काम ओझेलमा पर्ने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । उनीहरूले रसुवा बाढीपहिरो प्रभावितको उद्धार, राहत तथा पुनर्निर्माणसँगै जाजरकोटका भूकम्पपीडितको आवास पुनर्निर्माणलाई पनि समान प्राथमिकतामा राखेर अघि बढाउन सरकारसँग आग्रह गरेका छन् ।

विपद् जहाँ भए पनि पीडा समान हुने भन्दै घरबास गुमाएका परिवारलाई राज्यले समान रूपमा सहयोग गर्नुपर्ने उनीहरूको माग छ । वि.सं. २०८० कात्तिक १७ गते गएको भूकम्पबाट क्षतिग्रस्त घरमध्ये अधिकांश अझै पुनर्निर्माण हुन सकेका छैनन् । अधिकांश पीडित टिनका अस्थायी टहरामा बस्दै आएका छन् भने सयौँ परिवार टेन्ट तथा जोखिमपूर्ण अस्थायी आवासमा बस्न बाध्य छन् ।

वर्षायाम जारी रहेकाले अस्थायी आवासमा बस्ने परिवारको समस्या झनै बढेको छ । चिसो, सर्पको जोखिम तथा बालबालिकामा देखिने स्वास्थ्य समस्याले उनीहरूको दैनिकी कष्टकर बनेको पीडितहरू बताउँछन् । भूकम्पपछि निर्माण गरिएका केही अस्थायी टहरासमेत गत साउन ३० गते आएको बाढीपहिरोमा पुरिएका छन् । टहरा क्षतिग्रस्त भएपछि कतिपय परिवार अहिले टेन्टको सहारामा बसिरहेका छन् ।

वर्षा जारी रहेकाले टेन्टमुनिको बसाइ थप जोखिमपूर्ण बन्दै गएको उनीहरूको भनाइ छ । भेरी नगरपालिका एकका पूर्णबहादुर रावतले भूकम्पमा परिवारका चार सदस्य गुमाएका थिए । उनले सरकारको ध्यान रसुवातर्फ केन्द्रित भएपछि आफ्नो घर पुनर्निर्माण हुनेमा चिन्ता बढेको बताए । “सरकारको सबै ध्यान उतैतिर गएपछि हाम्रो घर बन्ने हो कि होइन भन्ने चिन्ता लाग्न थालेको छ,” उनले भने ।

भदौ सात गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले प्रभावित क्षेत्रमा पुगेर पुनर्निर्माणबारे जानकारी दिएको थियो । सोही क्रममा रावतगाउँमा चन्द्र कामीको घर पुनर्निर्माणको सुरुआतसमेत गरिएको थियो । पीडितहरूले नयाँ विपद्का कारण पुराना पीडित ओझेलमा नपर्ने गरी जाजरकोटको पुनर्निर्माणलाई निरन्तरता दिन सरकारसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८३ भदौ २१ गते आइतबार