२०८३ भदौ २१ , आइतबार

हर्रेमा विषादी परीक्षण प्रयोगशाला सञ्चालन



सुर्खेत । कर्णाली प्रदेशमा भित्रिने कृषि उपजमा विषादीको अवशेष परीक्षण गर्न सुर्खेतको हर्रेमा द्रुत विषादी अवशेष विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकारले प्रयोगशालालाई हाल ‘पाइलट प्रोजेक्ट’का रूपमा सञ्चालन गरेको हो । विषादी परीक्षण प्रयोगशाला सुर्खेतका प्रमुख परशुराम रावतका अनुसार अहिले आयात–निर्यात हुने तरकारी, बजारमा बिक्रीका लागि राखिएका कृषि उपज तथा किसानका खेतबारीबाट ल्याइएका नमुनाको परीक्षण भइरहेको छ ।

उनका अनुसार प्रारम्भिक चरणको परीक्षण करिब दुई महिनासम्म सञ्चालन हुनेछ । सो अवधिमा प्राप्त नतिजाको अध्ययन तथा उपकरणको परीक्षणपछि नियमित रूपमा विषादी परीक्षण गरी रिपोर्ट सार्वजनिक गर्ने व्यवस्था मिलाइनेछ । कर्णालीमा यसअघि एकीकृत कृषि प्रयोगशाला अन्तर्गत बीउबिजन, माटो तथा बाली संरक्षणसम्बन्धी परीक्षण हुँदै आएको छ ।

 

प्रदेश सरकारले सुर्खेतको हर्रेसँगै सल्यानको कपुरकोटमा समेत विषादी परीक्षण प्रयोगशाला सञ्चालन गर्ने तयारी गरेको छ । प्रयोगशाला सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापनको कामसमेत भइरहेको छ । स्वीकृत १८ दरबन्दीमध्ये हाल १४ जना स्थायी कर्मचारी कार्यरत छन् भने चार पद रिक्त छन् । कार्यरत कर्मचारीमध्ये आठ जना प्राविधिक छन् । थप प्राविधिक जनशक्ति आवश्यक रहेको प्रदेश सरकारले जनाएको छ ।

हर्रे र कपुरकोटमा सञ्चालन हुने विषादी परीक्षण प्रयोगशाला एकीकृत कृषि प्रयोगशालाअन्तर्गत रहनेछन् । उपकरणको मापन, प्रयोगशाला व्यवस्थापन तथा भौगोलिक अवस्थाको अध्ययनका आधारमा पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी गरिएको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७४ र ७५ देखि नै कर्णालीलाई ‘अर्गानिक प्रदेश’ बनाउने योजना अघि बढाउँदै आएको छ । प्रदेश सरकार गठन भएपछि मन्त्रिपरिषद्को पहिलो बैठकले समेत कर्णालीलाई अर्गानिक प्रदेश बनाउने निर्णय गरेको थियो ।

कृषिमा रासायनिक विषादीको प्रयोग न्यूनीकरण तथा बाहिरबाट भित्रिने विषादीयुक्त तरकारी र फलफूल नियन्त्रण गर्ने उद्देश्यले प्रदेश सरकारले नीतिगत व्यवस्था गर्दै आएको छ । यसका लागि विषादीको प्रयोग न्यूनीकरणसम्बन्धी ऐनसमेत निर्माण गरिएको छ । हर्रेमा प्रयोगशाला सञ्चालनमा आएसँगै कर्णालीमा भित्रिने कृषि उपजको विषादी परीक्षण प्रभावकारी हुने र अर्गानिक प्रदेश बनाउने अभियानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ भदौ २१ गते आइतबार