२०८३ भदौ २२ , सोमबार

बाढीले पुल बगाएपछि काठेपुलको भरमा लिमीवासी



हुम्ला । हिमालपारिको नाम्खा गाउँपालिका–लिमीको तिलगाउँका स्थानीयवासी बाढीले पुल बगाएपछि जोखिमपूर्ण काठेपुलबाट खोला तर्न बाध्य भएका छन् । गत असार पाँच गते तिलखोलामा हिमताल चुहिएर आएको बाढीले स्थानीयले जनश्रमदानबाट निर्माण गरेको पुल बगाएपछि गाउँलेको आवतजावतमा समस्या भएको हो । तत्काल अर्को विकल्प नभएपछि स्थानीयले दुईवटा काठ जोडेर अस्थायी पुल बनाएका छन् ।

खोलामा पानीको बहाव बढेका बेला काठको साँघुरो लप्कोबाट वारपार गर्न निकै जोखिम हुने स्थानीय बताउँछन् । स्थानीय छिरिङ लामाका अनुसार यही काठेपुल हुँदै तिलगाउँबाट लिमीकै हल्जी, जाङ, तुम्लिङ, ताक्ची, लाप्चा तथा सिमकोटतर्फ आवतजावत गर्नुपर्ने बाध्यता छ । काठेपुल निकै जोखिमपूर्ण छ । खोला तर्न डराउने मानिसले एक्लै पार गर्न सक्दैन उनले भने ।

अर्की स्थानीय जाङ्मु लामाले दुई–तीन जना मिलेर मात्र खोला पार गर्नुपर्ने अवस्था रहेको बताए । उनका अनुसार काठेपुल तर्दा एकअर्काको हात समात्नुका साथै शरीरमा डोरी बाँधेर सावधानीपूर्वक वारपार गर्नुपर्ने हुन्छ । वडाध्यक्ष पाल्जोर तामाङले तिलगाउँ बाढीको उच्च जोखिममा रहेको बताए । हिमताल फुटेर आउने बाढीले गाउँ र आवतजावतको मार्ग दुवै जोखिममा परेकाले बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग आग्रह गरिएको उनले बताए ।

यसअघि तिलखोलामा निर्माण गरिएको ट्रस ब्रिजसमेत बाढीले बगाएको थियो । त्यसपछि स्थानीयले जनश्रमदानमा बनाएको अस्थायी पुल पनि गत असारको बाढीले बगाएपछि गाउँले काठको अस्थायी पुलको भरमा आवतजावत गरिरहेका छन् । स्थानीयले दीर्घकालीन रूपमा सुरक्षित पुल निर्माण तथा बस्ती संरक्षणका लागि तत्काल सरकारी पहल आवश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति : २०८३ भदौ २१ गते आइतबार