सुर्खेत । गोविन्दबहादुर शाहीको अध्यक्षतामा कर्णाली प्रदेश उसु सङ्घको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । सुर्खेतमा सम्पन्न सङ्घको दोस्रो अधिवेशनले शाहीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो । कर्णाली प्रदेशका सात जिल्लाका उसु सङ्घका प्रतिनिधिको सहभागितामा सम्पन्न अधिवेशनले धर्मराज आचार्य र कृष्ण चालिसेलाई उपाध्यक्ष तथा कृष्ण बुढालाई सचिवमा निर्वाचित गरेको छ ।
धनबहादुर पुलामी कोषाध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै, चन्द्र थापा, गोकर्ण शाही, तारा शाही र गङ्गा बुढा सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष शाहीले कर्णालीमा उसु खेलको आधार थप मजबुत बनाउँदै जिल्ला तहसम्म प्रशिक्षण, प्रतियोगिता र प्रतिभा पहिचानका कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता जनाए । खेलाडी, प्रशिक्षक, जिल्ला सङ्घ तथा प्रदेश खेलकुद निकायसँग सहकार्य गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उनकाे याेजना रहेकाे छ ।
अधिवेशनमा सहभागीहरूले कर्णालीका सातै जिल्लामा रहेका उसु सङ्घलाई सक्रिय बनाउँदै नियमित प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । खेलाडीको प्रतिभा पहिचान गरी आवश्यक अवसर र प्रशिक्षण उपलब्ध गराउन सके कर्णालीबाट उत्कृष्ट उसु खेलाडी उत्पादन गर्न सकिने उनीहरूको भनाइ छ ।
नेपाल उसु महासङ्घका केन्द्रीय उपाध्यक्ष हरि थापा, कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल तथा महासङ्घका सचिव निकेश श्रेष्ठले कर्णालीमा उसु खेलको राम्रो सम्भावना रहेको बताए । सचिव श्रेष्ठले नयाँ कार्यसमितिले खेलाडीको सङ्ख्या र गुणस्तर दुवै वृद्धि गर्ने गरी योजनाबद्ध रूपमा काम गर्नुपर्ने बताउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका लागि महासङ्घबाट आवश्यक समन्वय र सहयोग रहने प्रतिबद्धता जनाए । नयाँ नेतृत्वसँगै कर्णालीमा उसु खेलको विकासले थप गति लिने अपेक्षा गरिएको छ ।








