२०८३ भदौ २२ , सोमबार

चौकुनेमा शिक्षक, विद्यार्थी र विद्यालय समितिका सदस्यलाई मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण



दिलीप कँडेल सुर्खेत ।

चौकुने गाउँपालिकामा शिक्षक, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूका लागि मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर सुर्खेतको आयोजनामा तथा चौकुने गाउँपालिकाको सहजीकरणमा गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयकी सचिव रोसनी कुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस वासपाने प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा चौकुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर बि।क।, शिक्षा विकास निर्देशनालय सुर्खेतकी शिक्षा निर्देशक दिपा हमाल तथा मानसिक रोग विशेषज्ञ डा। सुशील समर्दशी विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा चौकुने गाउँपालिका वडा नम्बर १ देखि १० सम्मका विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष , स्वास्थ्य शाखाका कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

अभिमुखीकरण कार्यक्रममा मानसिक स्वास्थ्यको महत्व, मानसिक स्वास्थ्यमा देखिन सक्ने समस्या, विद्यार्थीमा देखिने तनाव तथा चिन्ता, व्यवहारमा आउने परिवर्तन, मानसिक समस्या पहिचान गर्ने तरिका तथा समयमै मनोसामाजिक सहयोग र उपचारको पहुँचमा पुर्‍याउने विषयमा जानकारी गराइएको थियो।

कार्यक्रममा बोल्दै चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस वासपानेले विद्यार्थीको शैक्षिक विकाससँगै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। उहाँले विद्यालयमा विद्यार्थीले भोगिरहेका मानसिक तथा मनोसामाजिक समस्यालाई शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिले गम्भीरतापूर्वक बुझ्न आवश्यक रहेको धारणा राख्नुभयो। त्यस्तै कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयकी सचिव रोसनी कुमारी श्रेष्ठले मानसिक स्वास्थ्यलाई स्वास्थ्य क्षेत्रको मात्र विषय नभई परिवार, विद्यालय र समुदायसँग जोडिएको महत्वपूर्ण विषयका रूपमा लिनुपर्ने बताउनुभयो। मानसिक समस्याबारे समाजमा रहेका गलत धारणा र लाज–संकोच हटाउँदै समस्या भएका व्यक्तिलाई समयमै सहयोग र उपचारको वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो।

मानसिक रोग विशेषज्ञ डा। सुशील समर्दशीले विद्यार्थीमा मानसिक तनाव, चिन्ता, डर, एक्लोपन तथा व्यवहारमा आउने असामान्य परिवर्तनलाई बेवास्ता गर्न नहुने बताउँदै यस्ता समस्या देखिएमा गाली वा दबाब दिनुभन्दा उनीहरूको कुरा सुन्ने र आवश्यक परे विशेषज्ञको सहयोग लिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा शिक्षा विकास निर्देशनालय सुर्खेतकी शिक्षा निर्देशक दिपा हमालले विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न मानसिक रूपमा स्वस्थ र सुरक्षित वातावरण आवश्यक रहेको बताउँदै विद्यालयमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना र परामर्शका गतिविधिलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा सहभागी शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा विद्यार्थीहरूले मानसिक स्वास्थ्यका विषयमा थप जानकारी प्राप्त भएकाले विद्यालय तथा समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन सहयोग पुग्ने बताएका छन्।

कार्यक्रमले विद्यार्थीको मानसिक स्वास्थ्य संरक्षण, समस्या पहिचान तथा समयमै सहयोग र परामर्श उपलब्ध गराउने विषयमा शिक्षक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीबीच आवश्यक ज्ञान र समझदारी विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८३ भदौ २२ गते सोमबार