२०८३ भदौ २३ , मंगलबार

सडक अवरुद्ध हुँदा मुगुका स्याउ बाटोमै कुहिँदै



मुगु । नाग्म–गमगढी सडकअन्तर्गत मुगुको झ्यारीखोला र ताल्चाको चोरमेलामा सडक चौडा गर्ने कामका कारण १५ दिनदेखि सडक अवरुद्ध हुँदा नेपालगन्ज र सुर्खेत लैजान लागिएका स्याउ बाटोमै कुहिन थालेका छन् । बर्खायाममा सडक निर्माण सुरु गर्दा पटक–पटक सडक अवरुद्ध हुने गरेको स्थानीयको गुनासो छ । छायानाथ रारा नगरपालिका चारका कृषक महेन्द्र भामले तिजलाई लक्षित गरी बजार पठाउन लागिएका स्याउ सडक अवरुद्ध हुँदा बिग्रिन थालेको बताए । उनका अनुसार भदौको पहिलो सातादेखि सडक सञ्चालनमा आउन सकेको छैन । साउनमा मात्रै चार पटक सडक अवरुद्ध भएको थियो ।

स्थानीयले निर्माण कम्पनीले हिउँदमा काम नगरी बर्खायाममा सडक खन्न थालेकाले सर्वसाधारणले सास्ती खेप्नुपरेको आरोप लगाएका छन् । छायानाथ रारा नगरपालिका आठका रतन रावलले सडक निर्माणमा भएको ढिलाइबारे छानबिन गरी आवश्यक कारबाही गर्न माग गरे । सडक अवरोधका कारण दैनिक आवतजावत गर्ने सयौँ नागरिकसँगै रारा आउने पर्यटकसमेत प्रभावित भएको स्थानीयको भनाइ छ । झ्यारीखोलादेखि ताल्चा चोरमेलासम्म सडक चौडा गर्ने जिम्मा प्रभात उपमा जेभीले पाएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाका साइट इन्जिनियर प्रदीप चौधरीका अनुसार कम्पनीसँग २०८२ पुस २२ देखि २०८३ असार मसान्तसम्म काम सक्ने सम्झौता भए पनि समयमै काम पूरा नभएपछि २०८३ पुससम्म म्याद थप गरिएको छ । एक करोड ८२ लाख रुपैयाँ लागत रहेको योजनामा हालसम्म करिब ३५ प्रतिशत भौतिक प्रगति भएको छ । सडकमा डबल कटिङ, ग्याबिन तथा सिमेन्टेट वाल र २७ मिटर ग्राभेल गर्ने काम रहेको छ । जिल्ला प्रशासन कार्यालय मुगुले तत्काल जेसीबी परिचालन गरी सडक खुलाउन पहल भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ भदौ २३ गते मंगलबार