२०८३ भदौ २३ , मंगलबार

प्रयोग नहुँदै जीर्ण बन्यो अस्पताल भवन



जाजरकोट । जिल्ला अस्पताल जाजरकोटमा एक करोड ३९ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको आवासीय भवन प्रयोगमा आउनुअघि नै जीर्ण बनेको छ । भवनको जग तथा बाहिरी पेटी आसपासको जमिन भासिनुका साथै विभिन्न स्थानमा चिरा देखिएपछि निर्माणको गुणस्तरमाथि प्रश्न उठेको हो । सघन सहरी तथा भवन निर्माण आयोजना जाजरकोटले नाशा निर्माण सेवा, कोहलपुर–११, बाँकेसँग २०८१ चैत २२ गते भवन निर्माणको सम्झौता गरेको थियो । सात महिनाभित्र काम सम्पन्न गर्ने गरी एक करोड ३९ लाख ७६ हजार छ सय २७ रुपैयाँ ७६ पैसामा सम्झौता भएको थियो ।

निर्माणको समयसीमा असार मसान्तसम्म रहेकाले अन्तिम चरणमा काम सम्पन्न गर्ने दबाब रहेको बताइएको छ । भिरालो जमिनमा निर्माण गरिएको भवनमा पर्याप्त पानी निकासको व्यवस्था नहुनु, जमिन संरक्षणमा कमजोरी र प्रभावकारी प्राविधिक अनुगमन नहुनुले अहिले समस्या देखिएको स्थानीयको भनाइ छ । सम्झौता रकममध्ये निर्माण कम्पनीलाई हालसम्म एक करोड २९ लाख ७६ हजार तिन सय २७ रुपैयाँ १७ पैसा भुक्तानी भइसकेको छ । यो कुल सम्झौता रकमको करिब ९३ प्रतिशत हो ।

ठूलो रकम भुक्तानी भइसकेपछि भवन प्रयोगमै नआउँदै क्षति देखिनुले निर्माण कम्पनी र आयोजना कार्यालयको जिम्मेवारीमाथि समेत प्रश्न उठेको छ । जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीले निर्माणका क्रममा सम्बन्धित निकायबाट पर्याप्त अनुगमन नभएको बताए । उनले  भवन निर्माणको गुणस्तर र प्राविधिक पक्षमा कार्यालयको कमजोरी देखिएको उल्लेख गरे ।

आयोजना जाजरकोटका इन्जिनियर रमेशकुमार यादवले भवनमा देखिएको समस्या समाधान गर्न निर्माण कम्पनीलाई मर्मतका लागि निर्देशन दिइएको बताए । उनका अनुसार क्षतिग्रस्त भाग सुधार गरी भवनलाई प्रयोगयोग्य बनाउने प्रक्रिया अघि बढाइएको छ । सरकारी लगानीमा निर्माण भएको संरचना प्रयोगमा आउनुअघि नै क्षतिग्रस्त भएपछि निर्माणको गुणस्तर, प्राविधिक परीक्षण, पानी निकासको व्यवस्थापन तथा आयोजना कार्यालयको सुपरिवेक्षणबारे छानबिन आवश्यक देखिएको छ ।

प्रकाशित मिति : २०८३ भदौ २३ गते मंगलबार