२०८३ भदौ २३ , मंगलबार

पहिरोमा पुरिए ७० भन्दा बढी भेडाबाख्रा



डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका पाँच ल्हाँस्थित मुदुवाघारी खर्कमा पहिरोमा परी ७० भन्दा बढी भेडाबाख्राको मृत्यु भएको छ । केही भेडाबाख्रा घाइते भएका छन् । लगातारको वर्षासँगै आइतबार साँझ करिब चार बजे ढुंगासहितको पहिरो खसेर खर्कमा चरिरहेका भेडाबाख्रा पुरिएका हुन् । पहिरोमा ल्हाँ गाउँका करिब १२ देखी १३ घरपरिवारका भेडाबाख्रा परेको त्रिपुरासुन्दरी पाँचका वडाध्यक्ष नरबहादुर झाँक्रीले जानकारी दिए ।

 

स्थानीय कृषकले संयुक्त रूपमा भेडाबाख्रा चराइरहेका बेला अचानक पहिरो खसेको थियो । पहिरोमा परेका केही भेडाबाख्रा घटनास्थलमै मरेका थिए भने केही घाइते भएका छन् । सबै कृषकका भेडाबाख्रा एउटै क्षेत्रमा रहेकाले व्यक्तिगत रूपमा भएको क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको वडाध्यक्ष झाँक्रीले बताए । क्षतिको विवरण संकलन गर्न नेपाल प्रहरीको रोहबरमा मुचुल्का उठाउने काम भइरहेको उनले जानकारी दिए ।

भेडाबाख्रा पालनलाई मुख्य आय आर्जनको स्रोत बनाउँदै आएका स्थानीय कृषक एकैपटक ठूलो क्षति भएपछि चिन्तित बनेका छन् । पहिरोका कारण लाखौँ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । वडाध्यक्ष झाँक्रीले विपद्का कारण ठूलो आर्थिक क्षति व्यहोरेका कृषकलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ । उनले क्षतिको यकिन विवरण आएपछि थप राहतका लागि पहल गरिने बताए ।

प्रकाशित मिति : २०८३ भदौ २३ गते मंगलबार