सल्यान । अविरल वर्षापछि पहिरो खस्दा सोमबार रातिदेखि अवरुद्ध भएको राप्ती लोकमार्गअन्तर्गत सल्यान देखी दाङ सडकखण्ड करिब १३ घण्टापछि सञ्चालनमा आएको छ । सडकका विभिन्न स्थानमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । कपुरकोट गाउँपालिका पाँच खारखोलामा सोमबार राति ८ः५० बजे पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
सुरक्षा निकाय तथा सम्बन्धित निकायको समन्वयमा पहिरो हटाएपछि मंगलबार बिहान १०ः१३ बजे सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए । खारखोलामा सडक खुले पनि तत्काल साना सवारीसाधनलाई मात्र आवागमनको व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।
पहिरो खसेको स्थानमा थप क्षति हुन सक्ने जोखिम रहेकाले सावधानी अपनाउन यात्रु तथा चालकलाई आग्रह गरिएको छ । त्यस्तै, कपुरकोट गाउँपालिका तिन स्थित चोरखोलामा पनि सोमबार राति ८ः५० बजे पहिरो खसेर सडक अवरुद्ध भएको थियो । उक्त स्थानमा मंगलबार बिहान ९ः१३ बजे पहिरो हटाएर यातायात सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
लगातार भइरहेको वर्षाका कारण राप्ती लोकमार्गको सल्यान देखी दाङ खण्डमा पछिल्लो समय पटकपटक पहिरो खस्ने गरेको छ । सडक अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधन लामो समयसम्म बीच बाटोमै रोकिनुपर्ने अवस्था आउने गरेको छ । यसैबीच, खारखोलामा गएको पहिरोमा परी सोमबार राति एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै जनधनमा समेत क्षति पुगेपछि स्थानीयवासी त्रसित बनेका छन् । वर्षायाममा जोखिमयुक्त स्थान पहिचान गरी सडक छेउछाउको पहिरो नियन्त्रण तथा पानी निकासको उचित व्यवस्थापन गर्नुपर्ने स्थानीयको माग छ । निरन्तर वर्षा भइरहेकाले सडकमा पुनः पहिरो खस्न सक्ने सम्भावना रहेकाले यात्रामा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।









