जुम्ला । रसुवाको भोटेकोशीमा आएको बाढीपछि जुम्लाको पातारासी गाउँपालिका–स्थित लाम्री गाउँका १५ युवा सम्पर्कविहीन छन् । बाढी आएको १४ दिन बितिसक्दा पनि बेपत्ता आफन्तको खोजी तथा उद्धार प्रभावकारी रूपमा हुन नसकेको भन्दै पीडित परिवारले राज्यप्रति आक्रोश व्यक्त गरेका छन् । लाम्री गाउँबाट कामको सिलसिलामा रसुवा पुगेका २० युवामध्ये पाँच जना मात्रै फर्किएका छन् ।
बाँकी १५ जनाको अवस्था अझै अज्ञात छ । आफन्त भने उनीहरू सकुशल फर्किने आशामा दिनरात बाटो हेरिरहेका छन् । लाम्रीका हर्क बुढाका २० वर्षीय एक्लो छोरा ध्रुव बुढा पनि बाढीपछि सम्पर्कविहीन छन् । ध्रुवले भदौ नाै गते राति परिवारसँग फोनमा कुराकानी गर्दै भोलिपल्ट बिहान फोन गर्ने बताएका थिए । तर त्यसपछि उनको कुनै खबर आएको छैन । खेतीपातीबाट परिवार पाल्दै आएका हर्कका लागि ध्रुव मुख्य सहारा थिए ।
रसुवामा काम गरेर उनले मासिक २८ हजारदेखि ४० हजार रुपैयाँसम्म घर पठाउने गरेका थिए । ‘कमाउन गएको छोरा भेलले सम्पर्कविहीन भएपछि हामी विछिप्तजस्तै भएका छौं,’ हर्कले भने । लाम्रीकै सुरेन्द्र बुढा, विशाल बुढा र प्रकाश बुढासहित १५ युवा बेपत्ता भएपछि गाउँमा सन्नाटा छाएको छ । सुरेन्द्रकी श्रीमती विष्णुमायामाथि वृद्ध आमा र दुई छोरीको जिम्मेवारी आएको छ ।
२१ वर्षीय प्रकाशकी १९ वर्षीया श्रीमती कविता नौ महिनाकी छोरीसहित श्रीमान्को प्रतीक्षामा छिन् । १८ वर्षीय विशाल कक्षा नाै मा अध्ययनरत थिए । उनी साथीहरूसँगै काम गर्न रसुवा पुगेका थिए । उनका बुवा सुकरामले विशाल परिवारको मुख्य सहारा रहेको बताए । १९ वर्षीय सन्तोष बुढाका बुवा दलबहादुर छोरा खोज्न काठमाडौं हुँदै त्रिशूलीसम्म पुगेका थिए । तर बाढीग्रस्त क्षेत्रमा जान नदिइएको र हेलिकप्टरबाट खोजी गर्नसमेत सहयोग नपाएको उनको गुनासो छ ।
‘राज्यशक्तिमा पहुँच नहुँदा न समयमै उद्धार हुन सक्यो, न त शव नै भेटियो,’ उनले भने । जिल्ला प्रशासन कार्यालयका अनुसार भोटेकोशी बाढीमा कामका लागि रसुवा पुगेका जुम्लाका ६४ जना अझै सम्पर्कविहीन छन् । पातारासीका ४९, गुठिचौरका नाै चन्दननाथका पाँच र सिँजाका एक जना बेपत्ता छन् । राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखाले प्रभावित परिवारको अवस्था नाजुक रहेको जनाएको छ । आयोगले परिवारलाई राहतसँगै मनोपरामर्श सेवा आवश्यक रहेको बताएको छ ।









