२०८३ भदौ २४ , बुधबार

प्याब्सन कोहलपुरले जुटायो २१ लाख राहत



बाँके । निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) कोहलपुरले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि २१ लाखभन्दा बढी रुपैयाँ सहयोग गरेको छ । प्याब्सन कोहलपुरमा आबद्ध २५ विद्यालयले संकलन गरेको २१ लाख दुई हजार छ सय दुई रुपैयाँ विभिन्न माध्यमबाट बाढीपीडितका लागि सहयोग गरिएको हो ।

प्याब्सन कोहलपुरको खातामा जम्मा भएको १३ लाख ७३ हजार नाै सय ९२ रुपैयाँको चेक एक कार्यक्रमबीच प्याब्सन बाँकेलाई हस्तान्तरण गरिएको छ । प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीका अनुसार सदस्य विद्यालयहरूले न्यूनतम पाँच हजारदेखि अधिकतम दुई लाख रुपैयाँसम्म सहयोग गरेका छन् । केही विद्यालयले बाढी आएको केही दिनमै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका थिए भने केहीले प्याब्सन बाँकेको खातामा सहयोग गरेका थिए ।

संकलित कुल रकममध्ये पाँच लाख २९ हजार पाँच सय पाँच रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र एक लाख ९९ हजार एक सय पाँच रुपैयाँ प्याब्सन बाँकेको खातामा जम्मा गरिएको थियो । बाँकी रकम प्याब्सन कोहलपुरको खातामा संकलन भएको थियो । गोरखा युनाइटेड स्कुल, जीवन ज्योति माध्यमिक विद्यालय, साइनिङ स्टार मावि, राजजानकी मावि, नमुना विद्यासदन मावि, तक्षशिला एकेडेमी, शिखा एकेडेमी, बागेश्वरी एकेडेमी, एभरेष्ट सैनिक मावि, गुरुकुल शिक्षा सदन, मनकामना पब्लिक एकेडेमीलगायत २५ विद्यालयले सहयोग गरेका हुन् ।

चेक बुझ्दै प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले केन्द्रीय प्याब्सनको निर्देशन अनुसार बाँके जिल्लाबाट ५० लाख रुपैयाँ संकलन गरी बाढी तथा पहिरोपीडितलाई सहयोग गर्ने लक्ष्य रहेको बताए । उनले प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भएको भन्दै पीडित नागरिकको राहत र पुनःस्थापनामा सबै क्षेत्रले आ–आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्ने बताए । संकटका बेला शैक्षिक संस्थाले गरेको सहयोगले पीडित परिवारलाई राहत पुग्ने उनकाे भनाइ थियो ।

प्रकाशित मिति : २०८३ भदौ २४ गते बुधबार