दैलेख । लगातारको वर्षाका कारण पहिरोको जोखिम बढेपछि दैलेखको नारायण नगरपालिका एक स्थित नमुना बस्तीका आठ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । लगातारको वर्षाले बस्ती आसपास पहिरो खस्न थालेपछि र कमजोर भूगोलका कारण केही घर चर्किन थालेपछि सम्भावित जनधनको क्षति रोक्न जोखिममा रहेका परिवारलाई अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएको नारायण नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार नमुना बस्तीमा वर्षासँगै जमिन चिरिन थालेको र पहिरोको जोखिम बढ्दै गएपछि तत्कालै परिवारलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरिएको हो । स्थानीयको घर तथा बस्ती जोखिममा परेपछि आइतबार साँझ उनीहरूलाई अस्थायी आश्रयस्थलमा स्थानान्तरण गरिएको हो । नारायण नगरपालिका एकका वडाध्यक्ष सन्देशकुमार श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालय दैलेखको समन्वय तथा सहयोगमा आठ घरधुरीलाई गहतारीनजिक रहेको कृषि हाटबजार क्षेत्रमा राखिएको छ ।
उनका अनुसार अहिले उक्त क्षेत्रमा सारिएका परिवारलाई तत्कालका लागि सुरक्षित आवासको व्यवस्था गरिएको छ । “लगातारको भारी वर्षाका कारण नमुना बस्ती उच्च जोखिममा परेको छ । पहिरोले थप क्षति पुर्याउन सक्ने अवस्था देखिएपछि जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको हो,” उनले बताए । वडाध्यक्ष श्रेष्ठले वर्षा नरोकिएसम्म बस्तीको अवस्था थप जोखिमपूर्ण हुन सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको बताए ।
बस्तीको भौगोलिक अवस्था र घरहरूमा देखिएको चिराका कारण जोखिममा रहेका अन्य परिवारको अवस्थासमेत निगरानीमा राखिएको नगरपालिकाले जनाएको छ । यसैबीच, स्थानीय प्रशासन तथा सुरक्षा निकायले पहिरोको जोखिम रहेका क्षेत्रमा नियमित निगरानी बढाएका छन् । वर्षाका कारण सडक तथा अन्य पूर्वाधारमा समेत असर पर्न सक्ने भएकाले आवश्यक परे थप परिवारलाई पनि सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ ।
स्थानान्तरण गरिएका परिवारले तत्कालका लागि सुरक्षित ठाउँ पाएको भए पनि दीर्घकालीन रूपमा बस्ती नै जोखिममुक्त स्थानमा सार्नुपर्ने माग गरेका छन् । उनीहरूले वर्षायाममा प्रत्येक वर्ष पहिरोको त्रासमा बस्नुपर्ने अवस्था अन्त्य गर्न सम्बन्धित निकायसँग स्थायी समाधान खोज्न आग्रह गरेका छन् ।









