जाजरकोट । २०८० कात्तिक १७ गते गएको भूकम्पबाट क्षतिग्रस्त विद्यालय तथा स्वास्थ्य संस्थाका भवन पुनर्निर्माणलाई कर्णाली प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । प्रदेश सरकार अन्तर्गतका सामाजिक विकास कार्यालय र भौतिक पूर्वाधार विकास कार्यालयमार्फत जिल्लामा पुनर्निर्माणको काम अघि बढाइएको हो ।
भूकम्पका कारण जिल्लाका विद्यालय, स्वास्थ्य संस्था लगायत सार्वजनिक संरचनामा ठूलो क्षति पुगेपछि प्रदेश सरकारले आवश्यकता र प्राथमिकताका आधारमा पुनर्निर्माण थालेको थियो । केही संरचना निर्माण सम्पन्न भइसकेका छन् भने केहीको निर्माण कार्य जारी रहेको सम्बन्धित कार्यालयले जनाएको छ ।
भौतिक पूर्वाधार विकास कार्यालयका अनुसार जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ५२ विद्यालयका भवन पुनर्निर्माणको काम अघि बढाइएको छ । तीमध्ये ३३ विद्यालय भवन निर्माण सम्पन्न भइसकेका छन् भने १९ वटा भवन निर्माणाधीन अवस्थामा छन् । विद्यालय भवन पुनर्निर्माणसँगै विद्यार्थीका लागि आवश्यक अन्य भौतिक संरचना निर्माणमा पनि ध्यान दिइएको छ । सामाजिक विकास कार्यालयमार्फत विद्यालयका घेराबार, शौचालय तथा सामुदायिक भवनलगायतका संरचना निर्माण भइरहेको जनाइएको छ ।
स्वास्थ्य क्षेत्रतर्फ पनि पुनर्निर्माणको काम अघि बढाइएको छ । भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये जाजरकोटमा १५ वटा भवन निर्माण गर्ने लक्ष्य राखिएकोमा हालसम्म सात वटा भवन निर्माण सम्पन्न भइसकेका छन् । बाँकी भवन निर्माणको चरणमा रहेका छन् । सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख दशरथ लामिछानेले पुनर्निर्माण भएका विद्यालय भवनका कारण भूकम्पबाट प्रभावित विद्यार्थीलाई नियमित पठनपाठनमा सहज भएको बताए ।
उनका अनुसार भूकम्पपछि अस्थायी संरचना वा जोखिमयुक्त भवनमा अध्ययन गर्नुपर्ने बाध्यता रहेका विद्यार्थीले अहिले क्रमशः सुरक्षित र व्यवस्थित भवनमा अध्ययन गर्ने वातावरण पाउन थालेका छन् । सामाजिक विकास कार्यालयका इन्जिनियर प्रेम नेपालीले कार्यालयमार्फत विद्यालय भवन निर्माणसँगै घेराबार, शौचालय, सामुदायिक भवनलगायत आवश्यक पूर्वाधार निर्माण भइरहेको जानकारी दिए









