२०८३ भदौ २५ , बिहीबार

२४ दिनदेखि नाग्म–गमगढी सडक अवरुद्ध, यात्रु र व्यवसायी मर्कामा



मुगु । नाग्म–गमगढी सडकअन्तर्गत झ्यारी खोला र ताल्चाको चोरमेलामा सडक चौडा गर्ने क्रममा निर्माण कम्पनीले सडक अलपत्र पारेपछि यात्रु, स्थानीय तथा मालवाहक चालकले सास्ती खेप्नुपरेको छ । सडक अवरुद्ध भएको २४ दिन बितिसक्दा पनि यातायात सञ्चालन सहज हुन सकेको छैन ।

सडक चौडा गर्ने जिम्मा पाएको उपमा प्रभात जेभीले निर्माणका क्रममा सडकको केही भाग भत्काएपछि लामो समयसम्म अवरोध हटाउन पहल नगरेको चालक जगनाथ जैसीले आरोप लगाए ।  उनका अनुसार कम्पनीका सञ्चालक खड्कबहादुर शाही सम्पर्कविहीन भएपछि सडक थप अलपत्र परेको हो ।

सडक अवरुद्ध हुँदा गमगढी बजारमा दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने व्यवसायी, यात्रु र चालक सबैभन्दा बढी प्रभावित भएका छन् । वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा समय र खर्च दुवै बढेको व्यवसायी सुस्मिता कार्कीले बताए । लामो समयदेखि सडकमा गाडी रोकिँदा चालकलाई खानबस्नसमेत समस्या भएको मालवाहक चालक रविलाल चौधरीको गुनासो छ ।

“गमगढीसम्म पुग्ने वैकल्पिक मार्ग छैन । भएको रकम पनि सकियो, थप खर्च गर्ने अवस्था छैन,” चौधरीले भने गाडीमा पाल, सिमेन्टलगायत सामग्री लामो समय राख्नुपर्दा ती सामग्री बिग्रिने जोखिमसमेत बढेको उनका भनाइ छ । सडक अवरुद्ध भएपछि छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामको पहलमा श्रमदानमार्फत ग्याबिन भर्ने काम सुरु गरिएको छ ।

यता, सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले निर्माण कम्पनीलाई सडक निर्माण तथा अवरोध हटाउन पटक–पटक पत्राचार गरिएको बताए । नाग्म–गमगढी सडक मुगुलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने प्रमुख मार्ग हो । सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको आपूर्तिसँगै बिरामीलाई उपचारका लागि जिल्ला बाहिर लैजानसमेत समस्या भएको स्थानीयको भनाइ छ । स्थानीयले सडक तत्काल सञ्चालनमा ल्याउन र लापरबाही गर्ने निर्माण कम्पनीमाथि कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २०८३ भदौ २५ गते बिहीबार