२०८३ भदौ २५ , बिहीबार

जग्गा विवादले दुई पुल अलपत्र



जुम्ला । नेपालकै प्रमुख पर्यटकीय गन्तव्य रारा ताल जाने नाग्म–गमगडी सडकअन्तर्गत निर्माणाधीन दुईवटा पक्की पुल वर्षौंदेखि अलपत्र पर्दा यात्रुले सास्ती खेप्नुपरेको छ । विभिन्न जोखिमयुक्त खोलामा निर्माण थालिएका १० वटा पक्की पुलमध्ये दुईवटा जग्गा विवादका कारण रोकिएका हुन् । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार कालिकोटको तिलागुफा नगरपालिका र जुम्लाको हिमा गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने बालुवा खोला तथा कनकासुन्दरी गाउँपालिका छ स्थित गुठिज्युला खोलाको पुल निर्माण प्रभावित भएको हो ।

बालुवा खोलामा हिमा गाउँपालिकातर्फ पुलको पिल्लर निर्माण भएको वर्षौं भइसकेको छ । काम रोकिएपछि पिल्लरमा प्रयोग भएका सरियासमेत खिया लाग्ने अवस्थामा पुगेका छन् । कालिकोटतर्फका जग्गाधनीले जग्गा उपलब्ध गराउन नमानेपछि पुल निर्माण अघि बढ्न नसकेको सडक डिभिजनले जनाएको छ ।

हिमा गाउँपालिकाले यात्रुको सहजताका लागि अस्थायी काठेपुल निर्माण गरेको छ । तर वर्षायाममा खोलाको बहाव बढ्दा उक्त पुलसमेत जोखिमपूर्ण हुने गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताए । उनका अनुसार विगतमा बालुवा खोलामा मोटरसाइकलसमेत बग्ने गरेका छन् । यता गुठिज्युला खोलाको पुल निर्माणका लागि केही घर हटाउनुपर्ने तथा खत्याड जाने सडक प्रभावित हुने भएपछि स्थानीयले जग्गा दिन मानेका थिएनन् ।

सडक डिभिजन जुम्लाका प्रमुख श्रवणकुमार महताराले भने गुठिज्युलाको विवाद समाधान भएको र अब निर्माण प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिए । बालुवा खोलाको विवाद भने अझै समाधान हुन सकेको छैन । २०७८ फागुन नाै गते ठेक्का सम्झौता भएको १० वटा पुलको निर्माण २०८२ साउन मसान्तसम्म सम्पन्न गर्नुपर्ने थियो । तर पटक–पटक म्याद थपिएको छ ।

अधिकांश पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् । करिब ९३ किलोमिटर लामो नाग्म–गमगडी सडकमा पुल निर्माण सम्पन्न भएपछि यात्रा सहज हुने अपेक्षा गरिए पनि दुई पुल अलपत्र पर्दा स्थानीय तथा रारा जाने पर्यटक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

प्रकाशित मिति : २०८३ भदौ २५ गते बिहीबार