सल्यान । पाठेघरको मुखको क्यान्सरविरुद्ध किशोरीलाई एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाउने अभियान सुरु भएको छ । जिल्लाका १० वटै स्थानीय तहमा दुई सयभन्दा बढी खोप केन्द्रमार्फत बुधबारदेखि अभियान सञ्चालन गरिएको हो । अभियान शुक्रबारसम्म चल्नेछ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार यस वर्ष जिल्लामा दुई हजार तीन सय ६७ जना किशोरीलाई एचपीभी खोप दिने लक्ष्य राखिएको छ । जनस्वास्थ्य अधिकृत तथा खोप कार्यक्रम अधिकृत तारा रिजालका अनुसार कक्षा ६ मा अध्ययनरत एक सय ४९ विद्यालयका दुई हजार दुई सय ७० जना र विद्यालय नजाने १० वर्ष उमेरका ९७ जना किशोरीलाई खोप दिइनेछ ।
स्थानीय तहअनुसार बागचौर नगरपालिकामा तीन सय ४४, बनगाड कुपिण्डेमा तीन सय २९, त्रिवेणीमा तीन सय १४, शारदामा तीन सय ११, दार्मामा दई सय १८, कपुरकोटमा एक सय ८५, कुमाखमा एक सय ७९, कालीमाटीमा एक सय ६३, छत्रेश्वरीमा एक सय ५४ र सिद्धकुमाखमा एक सय ३० जना किशोरीलाई खोप दिने लक्ष्य छ ।
लक्षित सङ्ख्याका साथै खोप खेर जाने सम्भावित दरलाई ध्यानमा राखेर जिल्लाभर दुई हजार ६ सय १८ भायल खोप व्यवस्थापन गरिएको रिजालले बताए । संघबाट प्रदेश हुँदै जिल्ला र स्थानीय तहमा खोप पठाइएको हो । गत वर्ष सल्यानमा दुई हजार तीन सय ७६ जना किशोरीले एचपीभी खोप लगाएका थिए । स्थानीय तहबाट यस वर्ष नाै हजारभन्दा बढीको अनुमानित विवरण आए पनि लक्षित उमेर समूहका आधारमा खोप कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
एचपीभी संक्रमण पाठेघरको मुखको क्यान्सरको प्रमुख कारणमध्ये एक मानिन्छ । संक्रमण हुनुअघि किशोरी अवस्थामा खोप लगाउँदा भविष्यमा क्यान्सरको जोखिम उल्लेख्य रूपमा घटाउन सकिने स्वास्थ्यकर्मीहरूको भनाइ छ । विद्यालयमा अध्ययनरत किशोरीलाई विद्यालयमै र विद्यालय नजानेलाई स्वास्थ्य संस्थामार्फत खोप दिने व्यवस्था गरिएको छ ।









