२०८३ भदौ २५ , बिहीबार

डोल्पा अस्पतालमा बिरामीको चाप बढ्यो, विशेषज्ञ चिकित्सक अभाव



डोल्पा । हिमाली जिल्ला डोल्पाको जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गए पनि विशेषज्ञ चिकित्सकको अभाव भने हट्न सकेको छैन । आर्थिक वर्ष २०८२/८३ मा मात्रै अस्पतालबाट १५ हजार नाै सय ७८ जनाले बहिरंग सेवा (ओपीडी) लिएका छन् । अस्पतालको तथ्यांकअनुसार सो अवधिमा आठ सय ६१ जनाले आकस्मिक, पाँच हजार ७९ जनाले ल्याब, चार सय ४६ जनाले ईसीजी, ६१ जनाले मुटुको इको, एक हजार आठ सय ३८ जनाले भिडियो एक्सरे र दुई हजार ६ सय ५८ जनाले एक्सरे सेवा लिएका छन् । यस्तै, सात सय आठ जना भर्ना भएर उपचार गराएका छन् ।

सुत्केरी सेवामा पनि अस्पतालमा चाप बढ्दो छ । एक वर्षमा एक सय ५६ जनाले प्रसूति सेवा लिएका छन् । तीमध्ये एक सय २६ जनाको सामान्य र ३० जनाको शल्यक्रियामार्फत सुत्केरी गराइएको अस्पतालले जनाएको छ । ४० नवजात शिशुले एसएनसीयू तथा पाँच सय सात बालबालिकाले खोप सेवा लिएका छन् ।

अस्पतालका अहेब तथा मेडिकल रेकर्डर कर्णबहादुर बुढाका अनुसार ३६ जनाले हर्निया, एपेन्डिक्स र लाइपोमालगायतका मेजर सर्जिकल सेवा तथा दुई सय चार जनाले मध्यम खालका सर्जिकल सेवा लिएका छन् । तर, जटिल प्रकृतिका बिरामीलाई भने जिल्ला बाहिर रेफर गर्नुपर्ने बाध्यता छ । गत आर्थिक वर्षमा दुई सय तीन जना बिरामी थप उपचारका लागि बाहिर पठाइएका छन् ।

हड्डी भाँचिएका, ब्रेन हेमोरेज, जटिल पेटसम्बन्धी समस्या, पत्थरी, मुटुरोग तथा एनआईसीयू आवश्यक पर्ने नवजात शिशु बढी रेफर हुने गरेका छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर शाहीले विशेषज्ञ चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको बताए । अहिले अस्पतालमा आठौँ तहका तीन जना चिकित्सक कार्यरत छन् । डोल्पामा कम्तीमा एक जना नवौँ तहका विशेषज्ञ चिकित्सक आवश्यक रहेको स्वास्थ्यकर्मीको भनाइ छ । भौतिक पूर्वाधार र उपकरण विस्तार भए पनि दक्ष जनशक्तिको अभावका कारण डोल्पाका नागरिकले जटिल उपचारका लागि नेपालगञ्ज, सुर्खेत वा काठमाडौं पुग्नुपर्ने बाध्यता कायमै छ ।

प्रकाशित मिति : २०८३ भदौ २५ गते बिहीबार