हुम्ला । उत्तरी नाम्खा गाउँपालिका चार स्थित दुर्गम चालागाउँमा पहिलो पटक मोबाइल सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमको टुजी सेवा सञ्चालनमा आएपछि लामो समयदेखि सञ्चारविहीन रहेको गाउँ मोबाइल सम्पर्कमा जोडिएको हो । नाम्खा गाउँपालिका दुईको केर्मीमा नेपाल टेलिकमले स्थापना गरेको टावरबाट चालागाउँमा समेत मोबाइल सेवा सञ्चालन भएको हो ।
चालागाउँमै टावर स्थापना गर्ने प्रयास लामो समयदेखि गरिए पनि सम्भव नभएपछि केर्मीमा राखिएको टावरले काम गर्दा यहाँका बासिन्दाले सञ्चार सुविधा पाउन थालेका हुन् । नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले सरकारी सेवा तथा सुविधा पुग्न कठिन रहेको चालागाउँमा पहिलो पटक मोबाइल सेवा सञ्चालन हुनु महत्वपूर्ण उपलब्धि भएको बताए ।
लामो प्रयासपछि गाउँ सञ्चार सम्पर्कमा जोडिएको भन्दै उहाँले अब टेलिकमको सेवा नपुगेका अन्य बस्तीमा समेत फोरजी सेवा विस्तारका लागि पहल भइरहेको जानकारी दिए । चालागाउँमा मोबाइल सेवा पुगेपछि गाउँपालिकाका सबै बस्ती सञ्चार सम्पर्कमा जोडिएका छन् । यसअघि सञ्चार सम्पर्कका लागि स्थानीयवासीलाई गाउँबाट बाहिर जानुपर्ने बाध्यता थियो ।
मोबाइलमा कुरा गर्नसमेत पुया लेक वा गाउँपालिका केन्द्रसम्म पुग्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन् । चालागाउँकी स्थानीय फुली लामाले लामो समयदेखिको माग पूरा भएकोमा खुसी व्यक्त गरे । उनका अनुसार करिब १० वर्षदेखि गाउँमा सञ्चार सेवा विस्तारको माग हुँदै आएको थियो । ढिलै भए पनि गाउँमै मोबाइल चलाउन पाउने अवस्था बनेपछि दैनिक जीवनमा सहजता आएको उनले बताए ।
समुद्री सतहबाट करिब तीन हजार सात सय मिटर उचाइमा रहेको चालागाउँमा ६० घरधुरी छन् । तीमध्ये हाल करिब ३२ परिवार मात्रै गाउँमा बस्दै आएका छन् । दुर्गम क्षेत्रमा मोबाइल सेवा विस्तार भएपछि स्थानीयलाई आफन्तसँग सम्पर्क गर्न, आकस्मिक सूचना आदानप्रदान गर्न तथा सरकारी सेवासँग जोडिन सहज हुने अपेक्षा गरिएको छ ।









