सुर्खेत । वीरेन्द्रनगर–१ टेम्पोपार्कमा जग्गासम्बन्धी विवादलाई लिएर सहोदर दाजुभाइबीचको विवादले उग्र रूप लिएको छ । मंगलबार बिहान ६३ वर्षीय नारायणप्रसाद शर्मालाई उनका सहोदर दाजु ६७ वर्षीय लक्ष्मणप्रसाद शर्मा तथा उनका छोराहरूले बीच सडकमा कालो मोसो दली कुटपिट गरेको घटना सार्वजनिक भएको हो ।

पीडित पक्षका अनुसार नारायणप्रसाद शर्मामाथि कालो मोसो दल्नुका साथै छातीमा लात्ती प्रहार गरिएको थियो । घटनाका क्रममा फलामको सरिया तथा छड प्रयोग गरी प्रहार गर्ने प्रयाससमेत भएको र स्थानीयले हस्तक्षेप गरेर रोकेको पीडित पक्षको दाबी छ । घटनाक्रम सडक आसपासका सीसीटीभी फुटेजमा समेत स्पष्ट देखिने पीडित पक्षले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी बाङ्गेसिमलबाट प्रहरी सहायक निरीक्षक टिकाराम थापाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनामा संलग्न आरोपमा लक्ष्मणप्रसाद शर्मालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याएको जनाएको छ ।
पीडित पक्षका अनुसार यो घटना पहिलो भने होइन। जग्गासम्बन्धी विवादकै क्रममा नारायणप्रसाद शर्मामाथि घरमै समेत पटक पटक कुटपिट, गालीगलौज तथा दुर्व्यवहार हुँदै आएको दाबी गरिएको छ। यसअघि पनि घटनाबारे जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पटक पटक उजुरी पर्ने र मिलापत्रमार्फत विवाद टुंग्याउने गरिएको पीडित पक्षले जनाएको छ ।
अभिलेखअनुसार पहिलो पटक २०८१ माघ ४ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मिलापत्र भएको थियो । त्यसपछि २०८१ माघ २८ गते पुनः मिलापत्र भएको र २०८२ असोज ८ गते जिउज्यानको सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्ला प्रहरी कार्यालयलाई पत्राचारसमेत गरेको पीडित पक्षले जनाएको छ ।
पछिल्ला घटनासँग सम्बन्धित भिडियो तथा अन्य प्रमाण आफूसँग सुरक्षित रहेको पीडित पक्षको भनाइ छ । त्यसमध्ये केही भिडियोमा नारायणप्रसाद शर्मामाथि हातपात तथा छातीमा लात्ती प्रहार गरिएको दृश्य देखिँछ ।
यसैबीच, पछिल्लो घटनामा लक्ष्मणप्रसाद शर्मा र उनका जेठा छोरालाई प्रहरीले नियन्त्रणमा लिएको पीडित पक्षले जनाएको छ । घटनामा संलग्न रहेको आरोप लागेका उनका कान्छा छोरा नवराज शर्मा, जो प्रदेश अस्पतालमा एचए पदमा कार्यरत रहेको पीडित पक्षको दाबी छ, उनी विरुद्ध पनि किटानी जाहेरी परेको जनाइएको छ ।
पीडित पक्षका अनुसार नवराज शर्माको योजनामा यसअघि पनि नारायणप्रसादमाथि पटक–पटक आक्रमण हुने गरेको थियो। पछिल्लो घटनामा समेत उनको संलग्नता रहेको दाबी गर्दै किटानी जाहेरी दिइएको र २०८३ भदौ २४ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट पक्राउ पुर्जी जारी भए पनि उनी हालसम्म पक्राउ नपरेको पीडित पक्षले जनाएको छ ।
लामो समयदेखि जारी जग्गा विवादसँगै पटक–पटक कुटपिट, गालीबेइज्जती र आक्रमणका घटना दोहोरिँदा आफूहरू असुरक्षित महसुस गरिरहेको पीडित पक्षको भनाइ छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।








