२०८३ भदौ २६ , शुक्रबार

जुम्लामा नाै सय चार परिवारलाई चामल अनुदान



जुम्ला । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा जिल्लाका आठ स्थानीय तहका नाै सय चार परिवारलाई जन्म तथा मृत्यु संस्कारका लागि अनुदानमा चामल उपलब्ध गराएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख मनोज जोशीका अनुसार जन्मतर्फ पाँच सय ५८ र मृत्युतर्फ तिन सय ४६ जनाले प्रतिपरिवार ३० किलोका दरले चामल प्राप्त गरेका छन् ।

अनुदानमा चामल लिनेहरूमध्ये जन्मतर्फ पाँच सय नाै र मृत्युतर्फ ४९ जनाले मोटा चामल लिएका छन् । त्यस्तै, जिरो मसिनो चामल जन्मतर्फ तीन सय ११ र मृत्युतर्फ ३५ जनाले लिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा जन्म तथा मृत्युका अवसरमा कुल दुई सय ७१ क्विन्टल चामल वितरण गरिएको थियो । उक्त चामलको मूल्य करिब १९ लाख ७२ हजार रुपैयाँ बराबर रहेको छ । चामल वितरणका क्रममा ज्याला खर्चबापत चार लाख २८ हजार पाँच सय रुपैयाँ खर्च भएको प्रमुख जोशीले जानकारी दिए ।

अनुदानको चामल लिन आउने सेवाग्राहीलाई यातायात खर्चसमेत उपलब्ध गराउने व्यवस्था छ । जन्मतर्फ दुई सय २० जनालाई प्रतिव्यक्ति एक हजार र तीन सय ८० जनालाई पाँच सय रुपैयाँका दरले यातायात खर्च दिइएको छ । मृत्युतर्फ १९ जनाले एक हजार र ३५ जनाले पाँच सय रुपैयाँ यातायात खर्च प्राप्त गरेका छन् । हिमा, सिंजा, तिला र कनकासुन्दरी गाउँपालिकाका स्थानीयले चामलसँगै एक हजार रुपैयाँ यातायात खर्च पाउने व्यवस्था छ । त्यस्तै, तातोपानी, गुठीचौर र पातारासी गाउँपालिका तथा चन्दननाथ नगरपालिकाका सेवाग्राहीलाई पाँच सय रुपैयाँ यातायात खर्च उपलब्ध गराइने कार्यालयले जनाएको छ ।

यो सुविधा लिन जन्मको हकमा ३५ दिनभित्र जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र वडा कार्यालयको सिफारिस पेश गर्नुपर्नेछ । मृत्युको हकमा मृत्युदर्ता प्रमाणपत्र, वडा कार्यालयको सिफारिस र सेवा लिन आउने व्यक्तिको नागरिकताको प्रतिलिपि आवश्यक पर्ने खाद्य कम्पनी जुम्लाले जनाएको छ । वि.सं. २०७३ भदौमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जन्म र मृत्युका अवसरमा प्रतिपरिवार निःशुल्क ३० किलो चामल उपलब्ध गराउने घोषणा गरेको थियो । हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जुम्ला शाखामा करिब एक हजार  नाै सय क्विन्टल खाद्यान्न मौज्दात रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भदौ २६ गते शुक्रबार