२०८३ भदौ २६ , शुक्रबार

भायानेटद्वारा रसुवा बाढीपीडितलाई २० लाख



काठमाडौं । रसुवामा हालै आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि भायानेट कम्युनिकेसन्स लिमिटेडले २० लाख रुपैयाँ सहयोग गरेको छ । भायानेटले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्दै विपद्बाट प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाएको हो ।

कम्पनीले विपद्को कठिन समयमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग गर्नु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको जनाएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उपलब्ध गराइएको सहयोगबाट रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले सञ्चालन गरिरहेका राहत, उद्धार तथा पुनःस्थापनाका काममा योगदान पुग्ने अपेक्षा गरिएको भायानेटले जनाएको छ ।

कम्पनीले बाढीपहिरोमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, विपद्बाट प्रभावित सम्पूर्ण नागरिक तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै संकटको समयमा उनीहरूको साथमा रहेको जनाएको छ । बाढीपहिरोपछि उद्धार, राहत तथा सहयोगका कार्यमा निरन्तर खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक, सरकारी निकाय तथा विभिन्न मानवीय सहायता र राहतमा संलग्न संघसंस्थालाई पनि भायानेटले धन्यवाद दिएको छ ।

भायानेटले विपद्बाट प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि भइरहेको राष्ट्रिय प्रयासमा आगामी दिनमा समेत आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का बेला प्रभावित समुदायलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोगका कार्यक्रम अघि बढाउने जनाएको छ । भायानेटले आफ्नो सहयोग अभियानलाई ‘संकटको घडीमा नेपालसँगै’ भन्ने भावनासहित अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : २०८३ भदौ २६ गते शुक्रबार