डोल्पा । त्रिपुरासुन्दरी नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट ४५ जना बिरामीले विशेषज्ञ उपचार सेवा पाएका छन् । नगरपालिकाका ११ वटै वडाका स्वास्थ्य संस्थामा गरिएको प्रारम्भिक परीक्षणपछि थप उपचार तथा शल्यक्रियाका लागि छनोट भएका बिरामीलाई विशेषज्ञ टोलीले सेवा दिएको हो । स्वास्थ्य शाखाका अनुसार आँखा परीक्षण तथा छनोट शिविरमा ६ सय ६७ जनाको आँखा स्क्यानिङ गरिएको थियो ।
परीक्षणका क्रममा पहिचान भएका बिरामीमध्ये आवश्यक शल्यक्रियाका लागि छनोट भएकालाई त्रिपुराकोट स्वास्थ्य चौकी बगरमा विशेषज्ञ सेवा उपलब्ध गराइएको हो । स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठका अनुसार शल्यक्रिया गरिएका ४५ जनामध्ये ३२ जनामा मोतिबिन्दुको समस्या थियो। यस्तै, १२ जनाको आँखामा मासु पलाएको र एक जनाको परेला फर्किएको समस्या देखिएपछि शल्यक्रिया गरिएको हो ।
नेत्र विशेषज्ञ मञ्जु पन्तको नेतृत्वमा आएको विशेषज्ञ टोलीले बिरामीको विस्तृत परीक्षणसँगै आवश्यक शल्यक्रिया गरेको थियो । शिविरमा दृष्टि परीक्षण, आँखाको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको थियो । आवश्यकताअनुसार बिरामीलाई चस्मासमेत निःशुल्क उपलब्ध गराइएको आयोजकले जनाएको छ ।
शल्यक्रिया गरिएका बिरामीलाई औषधि र सुरक्षाका लागि कालो चस्मा प्रदान गरिएको छ । उनीहरूको स्वास्थ्य अवस्थाको निगरानीका लागि शल्यक्रियापछि एक हप्ता र एक महिनामा फलोअप सेवा उपलब्ध गराइने जनाइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पा, उपशाखा त्रिपुराकोट, त्रिपुरासुन्दरी नगरपालिका, चारिटी हेल्थ फाउन्डेसन धनगढी र आँखा अस्पताल सुर्खेतको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा त्रिपुराकोटका सभापति तुलबहादुर विष्टले विगतदेखि विभिन्न स्वास्थ्य शिविरमार्फत स्थानीयलाई सेवा दिँदै आएको बताउनुभयो। स्थानीयको आवश्यकता र मागलाई ध्यानमा राखेर यसपटक आँखा शिविर सञ्चालन गरिएको उनकाे भनाइ छ । नगरपालिकाका स्वास्थ्य संस्थामा गरिएको प्रारम्भिक परीक्षणबाट पहिचान भएका बिरामीलाई विशेषज्ञ उपचारका लागि त्रिपुराकोटमा ल्याइएको स्वास्थ्य शाखाले जनाएको छ ।









