२०८३ कात्तिक १ , शनिबार

चिकित्सा शिक्षामा ४१८ सिट थपिए, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता



काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३र८४ का लागि चिकित्सा शिक्षाका विभिन्न विषयमा ४१८ सिट थप गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले यस वर्षका लागि कुल ९ हजार ६९१ सिट निर्धारण गरेको हो।

आयोगका अनुसार अघिल्लो शैक्षिक सत्रको तुलनामा यस वर्ष कुल सिट संख्या बढेको छ। थपिएका सिटमध्ये एमबीबीएसमा ११०, बीएस्सी नर्सिङमा २१० र बीएमएसमा ९८ सिट छन्। आयोगका सदस्यसचिव हरिप्रसाद निरौलाका अनुसार एमबीबीएसतर्फ थपिएका ११० वटै सिट सरकारी शिक्षण संस्थालाई उपलब्ध गराइएको छ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले एमबीबीएस अध्ययनका लागि ५० सिट पाएको छ। त्यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०–३० सिट थप गरिएको छ। यस वर्ष निजी मेडिकल कलेजको सिट संख्या भने वृद्धि नगरिएको सदस्यसचिव निरौलाले जानकारी दिएका छन्। सिट निर्धारण प्रक्रियाका लागि देशभरका ९० शिक्षण संस्थाले स्वमूल्याङ्कन फाराम भरेर आवेदन दिएका थिए। तीमध्ये अनुगमन टोलीको प्रतिवेदन र निर्धारित मापदण्डका आधारमा ८४ वटा संस्थाको सिट संख्या तय गरिएको आयोगले जनाएको छ।

शिक्षण संस्थाको भौतिक पूर्वाधार, शिक्षक तथा अन्य जनशक्तिको उपलब्धता र आवश्यक मापदण्डलाई आधार बनाएर सिट निर्धारण गरिएको आयोगको भनाइ छ। संस्थाहरूले माग गरेकै आधारमा सिट नदिई अनुगमनबाट प्राप्त विवरणका आधारमा निर्णय गरिएको जनाइएको छ। सरकारी शिक्षण संस्थामा सिट थपिएसँगै चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा विद्यार्थी भर्नाको अवसर विस्तार हुने र स्वास्थ्य जनशक्ति उत्पादनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रबार