काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँ अर्थात् दुर्गा पक्ष आज कोजाग्रत पूर्णिमाका दिन विधिपूर्वक समापन हुँदैछ। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको १५ दिने दसैँ पर्व आज साँझ धन, ऐश्वर्य र सम्पन्नताकी देवी महालक्ष्मीको विशेष पूजाआराधना तथा रातभर जाग्राम बसेर बिदाइ गरिँदैछ।
विगत १५ दिनदेखि घरघरमा हर्षोल्लासका साथ मनाइएको बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको धार्मिक तथा सांस्कृतिक महत्त्व विशेष रहेको छ। धार्मिक मान्यताअनुसार, कोजाग्रत पूर्णिमाको साँझ महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बसेमा देवीले धन, ऐश्वर्य र समृद्धि प्रदान गर्ने विश्वास गरिन्छ। यस दिन महालक्ष्मीसँगै ऐरावत हात्तीमा सवार देवराज इन्द्रको पूजा गर्ने परम्परा पनि छ। कतिपय स्थानमा यस अवसरमा जुवा खेल्ने चलनसमेत रहिआएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज अखिल बलिपूर्तिको कार्यसमेत सम्पन्न हुनेछ। यससँगै विजयादशमीका दिनदेखि सुरु भएको मान्यजनबाट टीका, जमरा ग्रहण गर्दै आशीर्वाद लिने परम्पराको औपचारिक समापन हुनेछ। आजै घरमा राखिएको जमरा नदी, तलाउ, पोखरीलगायतका पवित्र जलाशयमा विसर्जन गर्ने चलन छ। आश्विन शुक्ल प्रतिपदाका दिन सुरु हुने दुर्गा पक्ष नवरात्र र विजयादशमीपछि पनि कोजाग्रत पूर्णिमासम्म जारी रहने परम्परा छ। कोजाग्रत पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ। यस दिनसँगै बडादसैँको धार्मिक तथा सांस्कृतिक उत्सवले पूर्णता पाउने विश्वास गरिन्छ।








