२०८३ कात्तिक ८ , आइतबार

बाढीपहिरोको असरबीच ६ अर्बको विद्युत् निर्यात



काठमाडौं । बाढीपहिरोका कारण प्रमुख जलविद्युत् आयोजनामा क्षति पुगे पनि नेपालले चालु आर्थिक वर्षको असोज महिनामा भारततर्फ झन्डै ६ अर्ब रुपैयाँबराबरको विद्युत् निर्यात गरेको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार असोजमा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँको विद्युत् बिक्री भएको हो। प्राकृतिक विपत्तिका कारण केही आयोजनाको उत्पादन तथा विद्युत् आपूर्तिमा अवरोध आए पनि वैकल्पिक आयोजनाको सहयोगमा निर्यातलाई निरन्तरता दिइएको छ। यसैक्रममा बंगलादेशतर्फ रोकिएको ४० मेगावाट विद्युत् आपूर्तिसमेत पुनः सञ्चालनमा आएको छ। प्राधिकरणको भार प्रेषण केन्द्रको तथ्यांकअनुसार असोज महिनामा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार युनिट विद्युत् निर्यात गरिएको छ। यो रकम गत आर्थिक वर्षको सोही महिनाको तुलनामा ९६ करोड २० लाख रुपैयाँ बढी हो। गत वर्ष असोजमा नेपालले ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँको विद्युत् बिक्री गरेको थियो।

चालु आर्थिक वर्षको भदौ महिनामा विद्युत् निर्यातबाट ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ आम्दानी भएको थियो। असोजमा निर्यात आम्दानी बढेसँगै आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा कुल विद्युत् निर्यातबाट १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ प्राप्त भएको छ। प्राधिकरणका अनुसार भारततर्फ विद्युत् बिक्री मुख्यतः द्विपक्षीय सम्झौता र भारतीय ऊर्जा विनिमय बजार ९आईएक्स० मार्फत हुँदै आएको छ। हरियाणा र बिहार राज्यसँगको द्विपक्षीय सम्झौताअन्तर्गत कुल निर्यातको करिब दुई तिहाइ विद्युत् बिक्री गरिएको छ भने बाँकी परिमाण डे(अहेड तथा रियल टाइम बजारमार्फत प्रतिस्पर्धात्मक रूपमा बिक्री गरिएको हो।

यसअघि भदौ १० गते आएको बाढीपहिरोले त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुर्‍याएपछि बंगलादेश र भारतको हरियाणातर्फ हुने विद्युत् निर्यात प्रभावित भएको थियो। तर, भारतको केन्द्रीय विद्युत् प्राधिकरण ९सीईए० ले वैकल्पिक आयोजनाबाट विद्युत् आपूर्ति गर्न अनुमति दिएपछि कात्तिक ६ गतेदेखि बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु भएको छ।

अब त्रिशूली, देवीघाट र चिलिमे आयोजनाको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बंगलादेश तथा हरियाणातर्फ पठाइनेछ। नेपाल र बंगलादेशबीच भएको विद्युत् व्यापार सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशलाई विद्युत् उपलब्ध गराउने व्यवस्था छ। यसैबीच, भारतबाट थप ३१ मेगावाट विद्युत् निर्यातको स्वीकृति प्राप्त भएसँगै नेपालले भारततर्फ निर्यात गर्न पाउने कुल स्वीकृत क्षमता १ हजार १७९ मेगावाट पुगेको छ। बाढीपहिरोका कारण ऊर्जा क्षेत्रमा चुनौती थपिए पनि वैकल्पिक आयोजनाको उपयोग र निर्यात क्षमता विस्तारले नेपालको विद्युत् व्यापारलाई निरन्तरता दिन सहयोग पुगेको छ।

प्रकाशित मिति : २०८३ कात्तिक ८ गते आइतबार