२०८३ कात्तिक ८ , आइतबार

ढल्केवर ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अन्तिम चरणमा मन्त्री मेहता



धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा निर्माण हुने ट्रमा सेन्टरको टेन्डर प्रक्रिया अघि बढिसकेको बताएकी छन्। आइतबार प्रस्तावित निर्माणस्थलको निरीक्षण गर्दै उनले आवश्यक प्रक्रिया पूरा भएपछि छिट्टै टेन्डर आह्वान गरिने जानकारी दिएकी हुन्।

मन्त्री मेहताका अनुसार ट्रमा सेन्टर निर्माणसम्बन्धी आवश्यक कागजातमा स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर गरी पूर्वाधारसम्बन्धी निकायमा पठाइसकिएको छ। उनले ट्रमा सेन्टर सरकारको बहुवर्षीय योजनामा समावेश भइसकेकाले यसको निर्माण अघि बढ्नेमा आश्वस्त रहन आग्रह गरिन्। उनले टेन्डर प्रक्रिया पूरा भएपछि भवनको शिलान्याससमेत छिट्टै गरिने विश्वास व्यक्त गरिन्। स्थलगत निरीक्षणका क्रममा निर्माणका लागि आवश्यक अवस्था अनुकूल रहेको उनको भनाइ थियो।

यसैबीच, प्रतिनिधिसभा सदस्य राजकिशोर महतोले ट्रमा सेन्टर निर्माणको विषयमा स्थानीयवासी लामो समयदेखि आश्वासन मात्रै पाउँदै आएको उल्लेख गर्दै अब निर्माण कार्य व्यवहारमै अघि बढ्नुपर्नेमा जोड दिए। उनले भवन निर्माण सुरु भएपछि मात्रै स्थानीय नागरिकमा विश्वास जाग्ने बताउँदै शिलान्यासको प्रक्रिया शीघ्र अघि बढाउन मन्त्री मेहतासँग आग्रह गरे। ढल्केवरमा ट्रमा सेन्टर निर्माण भएपछि दुर्घटनामा घाइते हुने तथा आकस्मिक उपचार आवश्यक पर्ने बिरामीलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। निरीक्षणका क्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेललगायत सुरक्षा निकायका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८३ कात्तिक ८ गते आइतबार