रुकुम पश्चिम। अपाङ्गता भएका व्यक्तिहरूलाई विपद्को जोखिम सामना गर्न सक्षम बनाउनुका साथै उनीहरूको मनोसामाजिक अवस्था सुधार गर्ने उद्देश्यले रुकुम पश्चिममा विपद् व्यवस्थापन तथा आधारभूत मनोपरामर्शसम्बन्धी तालिम सुरु भएको छ।

फेल्म नेपालको सहयोगमा परिलक्षित संस्थाले सञ्चालन गरिरहेको ‘अपाङ्गता भएका व्यक्तिहरूका लागि समावेशी शिक्षा र सशक्तीकरण परियोजना’ अन्तर्गत तालिम आयोजना गरिएको हो। आइतबारदेखि मुसिकोट नगरपालिका–५ स्थित होटल श्रीमा सुरु भएको तालिममा विपद् जोखिम न्यूनीकरण र मनोपरामर्शसम्बन्धी विषय समेटिएका छन्।
परिलक्षित संस्थाका कार्यक्रम अधिकृत राजु लामिछानेका अनुसार तालिमको पहिलो दिन विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणबारे प्रशिक्षण दिइनेछ भने त्यसपछिका पाँच दिन आधारभूत मनोपरामर्शसम्बन्धी सीप विकासमा केन्द्रित हुनेछन्। तालिममा परियोजना सञ्चालन भइरहेका जाजरकोटको कुशे गाउँपालिका तथा रुकुम पश्चिमका सानीभेरी र बाँफिकोट गाउँपालिकाका विभिन्न ११ समूहमा आबद्ध २२ जना अपाङ्गता भएका व्यक्तिहरू सहभागी छन्।
तालिमको पहिलो दिन नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाका सभापति बलवीर पुनले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणसम्बन्धी विषयमा सहजीकरण गर्ने कार्यक्रम छ। दोस्रो दिनदेखि पाँच दिनसम्म मनोपरामर्शसम्बन्धी प्रशिक्षण विष्णुप्रसाद प्रजापतिले प्रदान गर्नेछन्। आयोजकका अनुसार तालिमले अपाङ्गता भएका व्यक्तिहरूमा देखिन सक्ने मनोसामाजिक समस्याको पहिचान र समाधानमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। साथै, उनीहरूको दैनिक जीवन सहज बनाउने, आत्मविश्वास बढाउने र चुनौतीपूर्ण परिस्थितिको सामना गर्न आवश्यक सीप विकास गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रम अधिकृत लामिछानेले तालिमबाट हासिल हुने ज्ञान र सीप सहभागीहरूले आफ्नो दैनिक जीवनमा प्रयोग गर्ने विश्वास व्यक्त गरेका छन्। तालिमको उद्घाटन कार्यक्रम परिलक्षित संस्थाका कार्यक्रम अधिकृत राजु लामिछानेको अध्यक्षता तथा बाँफिकोट गाउँपालिका–४ का वडा सदस्य विवेककुमार शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन परियोजनाकी सामाजिक परिचालक उर्मिला केसी शाहले गरेकी थिइन्।
परिलक्षित संस्थाले अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, सशक्तीकरण र आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्ता गतिविधिमार्फत उनीहरूको क्षमता अभिवृद्धि, आत्मनिर्भरता र सामाजिक सहभागिता बढाउने संस्थाको लक्ष्य रहेको छ। नयाँ तालिमले सहभागीहरूलाई विपद्का बेला सुरक्षित रहन, मनोसामाजिक समस्या पहिचान गर्न र आवश्यक अवस्थामा अरूसँग प्रभावकारी रूपमा सहयोग आदानप्रदान गर्न उपयोगी सीप प्रदान गर्ने अपेक्षा गरिएको छ।








