काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सम्पूर्ण टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ ९क्यान० ले बिहीबार राति ८ बजेदेखि टिकट बिक्री खुला गरेको थियो।

क्यानले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत पहिलो खेलका टिकट सकिएको जानकारी दिएको हो। यस संस्करणमा प्रायोजकको संख्या बढेसँगै उद्घाटन खेलका लागि कुल ८ हजार ४०० टिकट बिक्री गरिएको क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले जानकारी दिएका छन्।उनका अनुसार बिक्री भएका टिकटमध्ये ७ हजार सामान्य प्याराफिट र १ हजार ४०० प्रिमियमतर्फका रहेका छन्।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। उद्घाटन खेलका सबै टिकट बिक्री हुनुले प्रतियोगिताप्रति क्रिकेटप्रेमीको आकर्षण देखाएको छ।
प्रतियोगिताको लिग चरणका खेल हेर्न साधारण प्याराफिटको टिकट मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य १ हजार रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, एलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकटको मूल्य १ हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य २ हजार रुपैयाँ तोकिएको छ। एनपीएलको नयाँ संस्करण सुरु हुन लागेसँगै उद्घाटन खेलमा साविक विजेता र उपविजेताबीचको प्रतिस्पर्धालाई दर्शकले विशेष चासोका साथ हेरेका छन्।








