२०८३ कात्तिक ९ , सोमबार

दशैं मनाउन ससुराली पुगेका ज्वाइँको आक्रमणबाट श्रीमतीसहित चारजना घाइते



खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ आहालेमा धारिलो हतियार प्रहार हुँदा चारजना घाइते भएका छन्।

प्रहरीका अनुसार दशैं मनाउन ससुराली पुगेका ४३ वर्षीय नइन्द्रकुमार राईले आफ्नै परिवारका सदस्यहरूमाथि धारिलो हतियार प्रहार गरेका हुन्। आक्रमणबाट उनकी ४० वर्षीया श्रीमती अन्जना राई, ६२ वर्षीया सासु स्यामाउन राई, २५ वर्षीया साली तेनिना राई र ससुरा नरेन्द्र राई घाइते भएका छन्।

घाइतेमध्ये अन्जना र तेनिनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई उद्धार गरी उपचारका लागि नगर अस्पताल दुर्छिम लगिएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार घटनामा संलग्न नइन्द्रकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक ९ गते सोमबार