सिरहा। सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उनलाई आइतबार राति गोलबजार क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। सुनसरीको देवानगञ्जमा गत साउन १० गते भएको घटनापछि साउन १४ गते गोलबजारमा भएको घटनामा संलग्न रहेको आरोप उनीमाथि छ। गोलबजारमा भएको तोडफोड तथा आगजनीमा अनवरको मुख्य भूमिका रहेको दाबी गर्दै ‘हिन्दु सम्राट सेना’का केही व्यक्तिले करिब दुई महिनाअघि प्रहरीमा जाहेरी दिएका थिए। उक्त जाहेरीका आधारमा उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रमेशबहादुर पालका अनुसार अनवर प्रहरीको सम्पर्कबाट टाढा रहँदै विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए। घर फर्किएको समयमा पनि उनी प्रहरीबाट जोगिन लुक्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मुलुकी अपराध संहिता, २०७४ को दफा ६५ मा धर्म, जात, जाति, सम्प्रदाय वा भाषाका आधारमा विभिन्न समुदायबीचको सुसम्बन्धमा खलल पार्ने कसुर प्रमाणित भएमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।







