काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० खेल्न नेपाल आएका कर्णाली याक्सका पाकिस्तानी खेलाडी साहिबजादा फरहान राष्ट्रिय टोलीबाट खेल्न पाकिस्तान फर्किने भएका छन्।

श्रीलंकाविरुद्ध हुने एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडीआई० शृङ्खलाका लागि पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी० ले उनलाई राष्ट्रिय टोलीमा बोलाएको कर्णाली याक्सले जनाएको छ। कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार फरहान अक्टोबर ३१ मा राष्ट्रिय टोलीको खेल सकिएपछि पुनः एनपीएलमा फर्किने सम्भावना छ। उनी टोलीबाट बाहिरिने अवधिका लागि कर्णालीले वैकल्पिक खेलाडी ल्याउने तयारी गरेको छ।
यसैबीच, पाकिस्तानी खेलाडीको अनापत्ति प्रमाणपत्र ९एनओसी० का विषयमा विवाद देखिएको छ। घिमिरेका अनुसार पीसीबीले एनपीएल खेल्न नेपाल आएका पाकिस्तानी खेलाडीलाई एनओसी उपलब्ध गराउन थप २५ हजार अमेरिकी डलर मागेको छ। खेलाडीहरूले आवश्यक प्रक्रिया पूरा गरी एनओसी लिएर नेपाल आइसकेपछि थप रकम मागिएको भन्दै घिमिरेले असन्तुष्टि जनाएका छन्। उनका अनुसार नेपाली क्रिकेटको विकास र प्रतियोगिताको स्तर वृद्धि गर्ने उद्देश्यले विदेशी खेलाडीलाई एनपीएलमा सहभागी गराइएको हो।
घिमिरेले थप रकम तिरेर खेलाडीलाई प्रतियोगितामा निरन्तर सहभागी गराउने विषयमा छलफल भइरहेको पनि बताए। तर, फरहानलाई राष्ट्रिय टोलीबाट खेल्न बोलाइएपछि उनी पाकिस्तान फर्किनुपर्ने भएको हो। उनले यस घटनालाई नेपाल र पाकिस्तानबीचको सम्बन्धसँग जोडेर हेर्न नहुने धारणा व्यक्त गर्दै भविष्यमा पनि पाकिस्तानी खेलाडीलाई नेपाली प्रतियोगितामा सहभागी गराउन आपसी सहकार्य र समझदारी आवश्यक रहेको बताए।
कर्णाली याक्सले फरहानसँगै अर्का पाकिस्तानी खेलाडी हुसेन तलातलाई पनि टोलीमा अनुबन्ध गरेको छ। फरहान राष्ट्रिय टोलीमा व्यस्त हुने अवधिमा उनको स्थानमा अर्को खेलाडी ल्याउने तयारी भइरहेको छ। एनपीएलमा विदेशी खेलाडीको सहभागिताले नेपाली क्रिकेटको प्रतिस्पर्धात्मक स्तर र अन्तर्राष्ट्रिय पहिचान बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। तर, प्रतियोगिताको सुरुवाती चरणमै एनओसीसम्बन्धी विवाद देखिएपछि कर्णाली याक्सले खेलाडी व्यवस्थापनका लागि वैकल्पिक तयारी गर्नुपर्ने भएको छ।








