काठमाडौं । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीको प्रभावले आगामी बुधबारदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार बिहीबारदेखि मौसममा प्रणालीको प्रभाव देखिन थाल्नेछ भने शुक्रबार र शनिबार यसको असर बढी पर्ने सम्भावना छ। नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले उक्त अवधिमा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने बताइन्। उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपातसँगै हिमआँधीको सम्भावना रहेकाले पर्वतारोहण तथा उच्च हिमाली क्षेत्रमा जाने योजना स्थगित गर्न उनले आग्रह गरेकी छन्।
पोस्ट मनसुन अवधिमा सामान्यतया मौसम सफा रहने भए पनि बंगालको खाडी र अरब सागरमा विकसित हुने न्यूनचापीय प्रणाली तथा चक्रवातले नेपालको मौसम प्रभावित पार्न सक्ने मौसमविद् पोखरेलले बताइन्। विभागका अनुसार ठूलो बाढीको सम्भावना कम रहे पनि दुर्गम क्षेत्र तथा सडकमा पहिरो जान सक्ने जोखिम छ। सम्भावित वर्षा र हावाहुरीले पाक्न लागेको धानबालीमा समेत क्षति पुर्याउन सक्ने भएकाले किसानलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
विशेषगरी शुक्रबार र शनिबार वर्षा, हिमपात तथा सम्भावित प्राकृतिक जोखिमलाई ध्यानमा राख्दै यात्रा गर्दा र कृषि कार्यमा संलग्न हुँदा सतर्क रहन मौसमविद्ले सुझाव दिएका छन्।








