हुम्ला। हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको लिमीका तीन बस्तीमा खाद्यान्न अभाव हुन थालेको छ। तिल, हल्जी र जाङ गाउँका स्थानीयले एक वर्षदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न पाउन सकेका छैनन्।
लिमीको हल्जी गाउँमा खाद्यान्न बिक्री केन्द्र रहे पनि त्यहाँ खाद्यान्न नपुगेपछि स्थानीय समस्यामा परेका हुन्। लिमीका वडाध्यक्ष पाल्जोर तामाङका अनुसार लामो समयदेखि अनुदानको खाद्यान्न ढुवानी हुन नसक्दा गाउँमा खाद्यान्न अभाव देखिन थालेको छ। गत साउनमा लिमीका लागि छुट्याइएको खाद्यान्न ल्याउने प्रयास गरिए पनि ढुवानी सम्भव हुन सकेन। खाद्यान्न नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङसम्म पुगेको भए पनि गत असोज १० र ११ गते परेको हिमपातका कारण लिमी प्रवेश गर्ने न्यालु लेकको सडक अवरुद्ध भएपछि ढुवानी रोकिएको हो। सडकमा जमेको हिउँ नपन्छाएसम्म खाद्यान्न लिमी पुर्याउन नसकिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीको हुम्ला शाखाले जनाएको छ।
गत वर्ष असोजमा तीन सय क्विन्टल खाद्यान्न लिमी पुगेयता स्थानीयले अनुदानको खाद्यान्न पाउन सकेका छैनन्। लिमीका तीन बस्तीमध्ये तिलमा १८, हल्जीमा ९० र जाङमा तीन घरधुरीको बसोबास छ। हिमपातले स्थानीय किसानको पाकेको बालीमा समेत क्षति पुर्याएको छ। हल्जी गाउँका स्थानीय नाक्याप लामाका अनुसार असोजमा परेको हिमपातले उवा, फापर, केराउ र मुलालगायतका बाली नष्ट भएका छन्। तीन सातासम्म हिउँमा पुरिएका बाली कुहिएपछि प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका छन्। स्थानीय उत्पादनमा क्षति पुग्नु, सरकारी अनुदानको खाद्यान्न गाउँमा नपुग्नु र चीनको ताक्लाकोटबाट समेत खाद्यान्न ल्याउन नसक्दा लिमीका बासिन्दा थप समस्यामा परेका छन्। समयमै खाद्यान्न ढुवानी हुन नसके स्थानीयमा खाद्य संकट अझ बढ्न सक्ने देखिएको छ।








