हुम्ला। दसैंलाई लक्षित गर्दै हुम्लामा यस वर्ष करिब चार करोड रुपैयाँ बराबरको खसीबोकाको कारोबार भएको छ। दसैंमा खसीबोकाको बलि दिने धार्मिक तथा सामाजिक परम्पराका कारण जिल्लामा खसीबोकाको माग र व्यापार बढेको हो।
बझाङको साइपाल क्षेत्रबाट चार सय खसीबोका ल्याएर बिक्री गरेका व्यापारी मानबहादुर पार्कीले झन्डै एक करोड रुपैयाँको कारोबार भएको जानकारी दिएका छन्। उनका अनुसार कुल कारोबारको करिब २५ प्रतिशत रकम उधारोमा गएको भए पनि यस वर्षको दसैंमा खसीबोकाको व्यापार हालसम्मकै बढी भएको छ।
उनले सुदूरपश्चिमका विभिन्न क्षेत्र, दार्चुला तथा अपिहिमाल क्षेत्रबाट समेत खसीबोका ल्याएर बिक्री गरेका थिए। त्यस्तै, तीन सय ५० वटा खसी बिक्री गरेका व्यापारी पाल्दन सुनारले पनि यस वर्षको दसैंमा अपेक्षाभन्दा बढी कारोबार भएको बताए। स्थानीय बजारमा २० हजारदेखि ३५ हजार रुपैयाँसम्मका खसी बिक्री भएका छन्। दसैंका लागि स्थानीयले खसीबोका खरिद गरी बलि चढाउने गरेका छन्।
चीनले हिल्सा नाकाबाट च्याङ्ग्रा आयात गर्न अनुमति नदिएपछि स्थानीय खसीबोकाको बिक्री बढेको व्यापारीहरूको भनाइ छ। मूल्य बढे पनि खसीबोकाको मागमा कमी नआएको स्थानीयले बताएका छन्। दसैंमा ३४ हजार रुपैयाँको खसी बलि चढाएका स्थानीय जयबहादुर शाहीले यस वर्ष मूल्य बढे पनि व्यापार घट्नुको सट्टा झन् बढेको बताए। विगतको तुलनामा कारोबार कम हुने अनुमान गरिए पनि बजारमा खसीबोकाको माग उच्च रहेको उनको भनाइ छ।
यस वर्ष हुम्लाबाट पहिलोपटक चार ट्रक खसीबोका पोखरासमेत लगेर बिक्री गरिएको छ। जिल्लामा मात्रै सीमित नरही अन्य सहरमा समेत खसीबोका बिक्री हुन थालेपछि व्यापार विस्तार भएको हो। हुम्लामा दसैंका अवसरमा खसीबोकाको कारोबार बढेको उद्योग वाणिज्य संघले पनि जनाएको छ। धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको दसैंले स्थानीय पशुपालक र व्यापारीलाई आम्दानीको अवसर प्रदान गरेको छ।








