मंसिरमा महाधिवेशन गर्न नसकिने कांग्रेस संस्थापनको निचोड

नेपाली कांग्रेसमा १५ औं महाधिवेशनको मिति र प्रक्रियाका बारेमा अन्योलता कायमै रहने गरी नेताहरूको अभिव्यक्ति आएका छन् । बिहीबारबाट पार्टी मुख्यालय सानेपामा सुरु पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा पनि नेताहरू विभाजित देखिएका छन्, महाधिवेशन कहिले भनेर ।
पार्टीका प्रवक्ता प्रकाशशरण महत महाधिवेशन गराउन वर्तमान कार्यसमितिको म्याद थपेर जानुपर्ने पक्षमा छन् । उनले भनेका छन्, ‘पार्टीभित्र केही समय म्याद थप गरेर जानुपर्छ भन्ने मत पनि छ ।’ अहिले पार्टिसँग क्रियाशील सदस्यताको विवरण नै नभएको र नयाँ सदस्यता वितरणसमेत नभएको अवस्थामा आवश्यक समय सर्वसम्मतिबाट थपेर नियमित महाधिवेशनको कार्यातालिका पारित गर्दै प्रक्रिया सुरु गर्नुपर्ने उनको भनाइ छ ।
मंसिरमा महाधिवेशन गरेर जान समय नपुग्ने धारणा अन्य नेताहरूको पनि छ । कांग्रेस सहमहामन्त्री महेन्द्र यादव, उमाकान्त चौधरीले मंसिरमा हचुवामा भरमा महाधिवेशन गर्न नसकिने बताएका छन् । फागुनको आम चुनाव फेस गरेर मात्र पार्टी निर्वाचन गर्नुपर्ने धारणा राख्नेहरू संस्थापन समूहमा छन् ।
‘चुनावपछि महाधिवेशन गरेर जान सकिन्छ । बाहिर हल्ला आयो भन्दैमा हामी घर फुटाउन लाग्नु हुँदैन । अहिले अन्तरिम सरकारको नेतृत्व पनि ७० काटेकै व्यक्तिले गर्नुभएको छ ।’ उनीहरूको भनाइ उद्धृत गर्दै अर्का पदाधिकारीले भने, ‘उहाँहरू त निर्वाचन फेस गरेर मात्र महाधिवेशन गरौँ भन्ने पक्षमा हुनुहुन्छ । उहाँहरूभन्दा पनि संस्थापन पक्षको यो लाइन छ ।’
बैठकमा कार्यकारी तोकेर महाधिवेशनसम्म जाने कि देउवा नै सभापति रहेर महाधिवेशन गर्ने भन्नेबारे निर्णय गर्न देउवालाई नै छाड्नुपर्ने कुरा उठेको थियो । यो कुरा उठेपछि महामन्त्रीद्वय, उपसभापति गुरुङलगायतले अहिले कार्यकारी तोकेर जानेभन्दा पनि विशेष महाधिवेशनमा नै जोड दिनुपर्ने कुरा राखे ।
संस्थापन इतर समूहका नेताहरुले नियमित महाधिवेशन गर्न समय अपुग हुने भएकाले आगामी मंसिरमा १५ औं महाधिवेशन गर्न नसकिने बताएका थिए । सहमहामन्त्री उमाकान्त चौधरीले अर्को वर्षको वैशाखमा महाधिवेशन गर्नुपर्ने बताएका छन् । ‘हामीसँग आवश्यक तयारी भएको छैन । यसैबीचमा चुनाव छ, आगामी वैशाखमा महाधिवेशन गर्नुपर्छ भन्ने मत उहाँको थियो,’ कांग्रेसका एक पदाधिकारीले भने । यस्तै मत अर्का सहमहामन्त्री महेन्द्र यादवको पनि मत यस्तै छ ।
संस्थापन समूहबाट महाधिवेशन पर धकेल्ने र वर्तमान कार्यसमितिको म्याद थप गर्नुपर्ने भनिरहँदा महामन्त्री गगन थापाले भने म्याद थप नगर्ने पक्षमा आफू रहेको बताएका छन् । ‘२६ असोजमा बस्ने केन्द्रीय समिति बैठकमा म यो केन्द्रीय समितिको म्याद थप गर्ने प्रस्ताव ल्याउँदिनँ । सभापतिको मात्र होइन, म आफैँ महामन्त्री छु, मेरै म्याद पनि नथप्ने पक्षमा म छु,’ महामन्त्री थापाले भने, ‘मंसिरमा यो कार्यसमितिको कार्यकाल सकिन्छ, अब नियमित महाधिवेशन गरौं । नियमित महाधिवेशन नगर्ने हो भने विशेष महाधिवेशन हुन्छ ।’ (शिलापत्र)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *